काठमाडौं – नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा बिदामा बसेका छन् । बिहीबार जंगी अड्डामा आयोजित एक समारोहबीच प्रधान सेनापति शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन् ।
सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार मन्त्रिपरिषदको बैठकले गत साउन १४ गते सिग्देललाई कायममुकायम प्रधान सेनापति बनाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस अनुसार राष्ट्रपति पौडेलले साउन २५ गते सिग्देललाई कायममुकायम प्रधान सेनापतिमा नियुक्त गरेका थिए ।
प्रधान सेनापति शर्माको भदौ २४ गते पदावधि सकिँदैछ । सेनामा अवकासमा जानु एक महिना अगावै बिदामा जाने प्रचलन छ । प्रभुराम शर्मा नेपाली सेनामा सहायक सेनानी दर्जामा प्रवेश गरेका थिए । उनी करिब ४१ वर्ष सेनाको सेवामा रहेका छन् ।
जंगी अड्डामा आयोजित बुझबुझारथ कार्यक्रममा प्रधान सेनापति शर्माले नेपाली सेनाको सबै तह र तप्काहरूलाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गरेका थिए ।