काठमाडौं – छिमेकी मूलक भारत र चीनको निम्तोबीच प्रधानमन्त्री केपी शर्मा ओलीको प्रथम विदेश भ्रमण थाइल्याण्ड हुने भएको छ । बंगालको खाडी प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड जाने भएका हुन् ।
उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवतः यो नै पहिलो विदेश भ्रमण हुनेछ । बिमस्टेकको छैटौँ शिखर सम्मेलन सेप्टेम्बर ४ (१९ भदौ) मा थाइल्यान्डको बैंककमा हुँदै छ । नेपाल र थाइल्यान्डले बिमस्टेक सम्मेलनमा सहभागीपछि दुई दिन उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रमसहित प्रधानमन्त्री ओलीको भ्रमणलाई औपचारिक भ्रमण बनाउँदै छन् ।
थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनको निमन्त्रणामा ओली जान लागेका हुन् । प्रधानमन्त्री भएपछि उनको पहिलो औपचारिक विदेश भ्रमण थाइल्यान्डबाट हुन लागेको हो । ‘प्रधानमन्त्री ओलीले सेप्टेम्बर ५ र ६ (२० र २१ भदौ)मा थाइल्यान्डमा उच्चस्तरीय औपचारिक वार्ता गर्नुहुने गरी कार्यक्रम तय भएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने ।
प्रधानमन्त्री ओलीले थाई नरेशसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । समकक्षी थाभिसिनसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनमा सहभागी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालगायतसँग साइडलाइनमा वार्ता गर्ने गरी परराष्ट्रले गृहकार्य गरिरहेको छ ।
बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी सात राष्ट्र सदस्य छन् । शिखर सम्मेलन हुनका निम्ति सबै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ ।
सेप्टेम्बरमा नै प्रधानमन्त्री ओलीले अमेरिकाको भ्रमण गर्ने तयारी पनि परराष्ट्रले गरिरहेको छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जान लागेका हुन् ।सेप्टेम्बर २४ देखि ३० सम्म राष्ट्रसंघको महासभालाई सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।