समाचार सुन्नुहोस :
काठमाडौँ – अनलाइनमार्फत ५६ लाखभन्दा बढी ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिराहा साबिक इटहर्वा गाविस-३ का २७ वर्षीय इम्तियाज अहमदलाई पक्राउ गरेको छ। उनले विभिन्न व्यक्तिहरूका बैंक खाताहरू सञ्चालन गरेर ती खाताको एटीएम कार्डको गैरकानुनी प्रयोग गरेको खुलेको छ।
सामाजिक सञ्जालहरूको दुरुपयोग गर्दै अहमदले पीडितहरूलाई डलर, कम्प्युटर, ल्यापटप, आईफोन लगायतका लगेज र विदेशमा कोभिडले मृत्यु भएको व्यक्तिको नाममा रहेको बैंक रकम लिन उत्तराधिकारी बनाउने प्रलोभनमा पारेका थिए। सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार, उनले विभिन्न व्यक्तिहरूका नाममा रहेका बैंक खातामा ५६ लाख १० हजार ६९९ रुपैयाँ पठाउन लगाएर ठगी गरेका थिए।
अहमदलाई लाहानबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।