काठमाडौं – सत्ताबाट करिब ९ वर्षपछि संघदेखि प्रदेशसम्म प्रतिपक्षमा हुत्तिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीलाई चलायमान बनाउनमा केन्द्रित भएका छन् । प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस एमाले मिलेपछि सत्ता बाहिर पुगेका उनी पार्टीलाई सशक्त बनाउने अभियानमा केन्द्रित भएका हुन् ।
यसअघि अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सत्ता केन्द्रित हुँदा पार्टी निष्क्रिय भएको आरोप लाग्ने गरेको थियो । अहिले माओवादी केन्द्रभित्र वर्तमान परिस्थिति र पार्टी निर्माण सम्बन्धमा गम्भीर बहस भइरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको कमजोरी, विचारको विकास, पार्टी निर्माणमा आगामी योजनाबारे गम्भीर समीक्षा भइरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । ‘पार्टीले सदनमा खेल्नुपर्ने भूमिका, पार्टी संगठनात्मक गतिविधि र पार्टी सञ्चालनको विषयमा विमर्श जारी छ,’ उनले भने, ‘पार्टी अब प्रतिपक्षमा पुगेको छ यो बैठकले आगामी रणनीति तय गर्छ ।’
असार १७ गते दुई ठुला दल कांग्रेस र एमाले मिलेर माओवादी नेतृत्वको सरकार ढाल्नेदेखि संविधान संशोधनको मुद्दा अगाडि बढाउनेसम्म ७ बुँदे सहमति गरेका थिए । सोही सहमतिको जगमा अहिले एमालेका अध्यक्ष केपी शर्मा ओली दुई तिहाइ मतसहित प्रधानमन्त्री भएका छन् । २०७२ सालमा संविधान जारी भएपछि कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर सत्ता लाभ लिएको माओवादी १० वर्षपछि प्रतिपक्षमा पुगेको हो ।
प्रवक्ता सापकोटाले अब माओवादी केन्द्र नयाँ ढंगले अगाडि बढ्ने बताए । ‘वर्तमान परिस्थिति र पार्टी निर्माणमा गम्भीर बहस केन्द्रित भइरहेको छ । अध्यक्षले वैचारिक, राजनीतिक, सैद्धान्तिक सबै कुरा राख्न खुला गर्नुभएको छ । अहिलेसम्म बहसको निष्कर्ष अब पार्टीको सङ्घर्षका रूपहरू कस्ता हुन्छन् ? सदन र सडकलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? जनपरिचालनको रूप कस्तो हुन्छ भन्ने दृष्टिकोणबाट आइरहेका छन्,’ उनले भने, ‘यसलाई आगामी स्थायी समिति बैठकले खाका तयारी गर्नेछ । केन्द्रीय समिति बैठकले नयाँ योजना बनाएर अगाडि बढ्नेछ ।’त्यसो त अध्यक्ष प्रचण्डले पनि माओवादी अब सरकारमा जाने भन्दा जनतामा जाने र पार्टीलाई एकताबद्ध, सुदृढ बनाउनमा ध्यान केन्द्रित हुने बताएका छन् । ‘यो गठबन्धनले बढो अमूर्त ढङ्गले बनेको छ जनताले त्यसलाई बुझिरहेका छन् । विगतको इतिहास पनि छ । घटनाक्रम पनि छ,’ उनले भने, ‘संविधान मिच्ने, समावेशी, समानुपातिक प्रतिनिधित्वको प्रणालीलाई उल्ट्याउने, सङ्घीयतालाई परिमार्जित गर्ने होइन त्यसलाई पनि पछि हटाउने खतरा छ ।’
उपाध्यक्ष पम्फा भुसालले समाजवादी विचारको विकास र पार्टी निर्माणका गम्भीर छलफल भएकाले सोही बमोजिमको आगामी योजना आउने बताइन् । ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा खुला र गम्भीर छलफल भइरहेको छ,’ उनले भनिन्, ‘सबैको जोड विचारको विकास र पार्टी निर्माणमा रहेको छ । विचारको संश्लेषण गरी पार्टीले आगामी योजना बनाउने छ ।’
उपमहासचिव मात्रिका यादवले पहिला पार्टीलाई बलियो बनाउने र त्यसपछि विचार मिल्नेसँग एकता, सहकार्य गरेर अगाडि बढ्ने स्पष्ट पारे । ‘आफ्ना कमीकमजोरी सुधारेर विचारको विकास गर्ने, पार्टी निर्माणमा जोड गर्ने । मुख्यतः आफ्नो पार्टी बलियो बनाउने, त्यसपछि एकतामा आउनेसँग पनि एकता गर्ने । मोर्चा पनि बनाउने, सहकार्य पनि गर्ने, यी सबै विषय खुला राख्नुपर्छ । आगामी दिनमा सरकारले कस्तो नीति लिन्छ, सोही अनुसार पार्टी अगाडि बढ्छ’, यादवले भने ।
खासगरी सत्ता केन्द्रित राजनीतिले शिथिल भएको माओवादी अहिलेकै नेतृत्व र संगठनबाट फेरि तङ्ग्रिन सक्छ कि सक्दैन भन्ने ठुलो प्रश्न खडा भएको छ । नेताहरूको जीवनशैली, आचरण, व्यवहारका कारण पछिल्लो समय माओवादीले निकै आलोचना खेप्नुपरेको छ ।०८४ मा एक्लै चुनाव लडेर जित्छौं
प्रचण्डले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्त्वपूर्ण समयमा तपाईँहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिनेछ ।’
उनले १८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको बताए । ‘१८ महिना सरकारको नेतृत्व गर्यौँ। हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौं,’ उनले भने, ‘हामी सुशासनका पक्षमा विजय भएर निस्किएका छौँ । भ्रष्टहरू मिलेर सरकार बनाएको कुरा बच्चा बच्चालाई पनि थाहा छ । यो कुरा जनतालाई पनि बुझाउन जरुरी छ ।’
पार्टी प्रवेश गर्दै युवा नेता जगदीश दाहालले प्रचण्ड सरकार इतिहासकै सबैभन्दा सफल सरकार भएको र प्रचण्ड सुशासनका नायक भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताए । कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल परित्याग गरी मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।