काठमाडौं – दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमेश्वर मन्दिरको शिलामा शनिबार दिउँसो १ः४७ बजेबाट पसिना आउन सुरु भएको हो ।
शिलाको बायाँतर्फबाट पसिना आएको भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए । उनका अनुसार पसिना आउने क्रम अझै जारी रहेको छ । भीमेश्वरको शीलामा बायाँतर्फबाट पसिना आएमा जनतालाई अनिष्ट हुने जनविश्वास रहिआएको छ ।
भीमसेनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई चम्मरले हम्किने चलन छ । भिमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टासहित सबै प्रकारका बाजाहरू बजाइन्छ । पसिना आएको खबर सार्वजनिक हुँनासाथ ठूलो सङ्ख्यामा दर्शनार्थी मन्दिर परिसरमा पुगेका छन् । शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई क्रमिक रूपले दिने गरिन्छ ।
भीमसेनको शिलामा पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने बताइन्छ । शिलाको सबै भागबाट पसिना आए मुलुकमा ठूलै अनिष्ट हुने अनुमान गरिन्छ । दायाँबाट आउँदा राष्ट्र प्रमुख तथा सरकार र बायाँबाट आउँदा जनतामा अनिष्ट हुने जनविश्वास छ ।
यसअघि २०७८ साल वैशाख २५ गते पनि भीमेश्वर मन्दिरको शिलामा १ घण्टा २५ मिनेटसम्म पसिना आएको थियो । त्यतिबेला भीमसेनको शिलाको दायाँबाट पसिना आएको थियो ।