सोमबार, आषाढ २४, २०८१
Monday, July 8, 2024

काठमाडौं – केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टी ऐतिहासिक जित हासिल गर्दै सत्तामा फर्किएको छ । लेबर पार्टी बेलायतमा १४ वर्षपछि सत्तामा फर्किएको हो ।

६५० सिट रहेको बेलायतको तल्लो सदनमा बहुमतका लागि ३२६ सिट आवश्यक पर्दछ । लेबर पार्टीले अहिलेसम्म ३८० सिटमा जित हासिल गरिसकेको छ । त्यस्तै ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले ९२ सिट मात्र जित्न सकेको छ ।

लेबर पार्टीको यो चुनावी जितलाई सन् १९९७ मा टोनी ब्लेयर नेतृत्वको लेबर पार्टीको जितसँग तुलना गरिएको छ । सो निर्वाचनमा ब्लेयरको नेतृत्वमा लेबर पार्टीले ४१९ सिट जितेको थियो । लेबर पार्टीको सरकार बन्ने निश्चित भएसँगै यसका नेता केयर स्टारमर अब नयाँ प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ ।

अझै पनि एक सयभन्दा बढी स्थानको नतिजा आउन बाँकी नै छ । परिणामपछि वर्तमान प्रधानमन्त्री ऋषि सुनकले हार स्वीकार गर्दै माफी मागेका छन् । कन्जरभेटिभ पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए पछि उनले पदबाट राजीनामा दिने घोषणा पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया