सोमबार, आषाढ २४, २०८१
Monday, July 8, 2024

काठमाडौं – नेकपा एमाले सरकारबाट बाहिरिएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले धानको समर्थन मूल्य तोक्नेसहितका निर्णय गरेको छ । बुधबार प्रमुख सत्ता सहयोगी दल एमाले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएपछि बिहीबार मन्त्रिपरिषद् बैठक बसेको हो ।

बैठकले धानको समर्थन मूल्य तोक्नेसहितका निर्णय गरेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सल्लाहकार गोविन्द आचार्यले दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

प्रधानमन्त्रीको ब्रिफिङ सुनाउँदै उनले भनिन्, ‘सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । संवैधानिक प्रावधानअनुसार संसद् फेस गर्नुहुन्छ । राजीनामा दिने त्यस्तो केही कुरा छैन ।’ उनले संसदबाट विश्वासको मत लिने मिति तय नभए पनि सकेसम्म छिट्टै विश्वास मत लिने बताइन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार अल्पमतमा परिसकेको छ । बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका ८ मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका थिए । सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न एमालेले सरकारलाई सचेत गराएको थियो । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै संसद्का दुई ठूला दल एमाले र नेपाली कांग्रेसबिच केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको स्मरण गराउँदै त्यस्ता निर्णय नगर्न भनेको हो ।

तपाईको प्रतिक्रिया