शनिबार, आषाढ २२, २०८१
Saturday, July 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राप्रपा नेपालले कांग्रेस-एमालेको नयाँ गठबन्धनले गणतन्त्रको असफलतालाई प्रमाणित गरेको विश्लेषण गरेको छ।राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा, चार महिनामै एमाले-माओवादी केन्द्रको गठबन्धनलाई विस्थापित गर्दै कांग्रेस-एमालेले नयाँ गठबन्धन बनाएको घटनाले संघीय धर्म निरपेक्ष गणतन्त्रको असफलतालाई पुष्टि गरेको निष्कर्ष निकालिएको छ।

बैठकमा, नेपाली राजनीतिमा सत्ताकेन्द्रित फोहरी प्रतिस्पर्धा, भ्रष्टाचार प्रवृत्ति, र अस्थिरताको पुनरावृत्ति भएको निष्कर्ष निकालिएको छ। राप्रपा नेपालले नयाँ सत्ता गठबन्धन कुनै सिद्धान्त, नीति, र जनादेशको आधारमा नभई केवल सत्ता स्वार्थ र भ्रष्टाचारबाट जोगिने रणनीतिको परिणाम भएको जनाएको छ। राप्रपा नेपालले संसदका दुई ठूला दल मिलेर सरकार बनाउनु विडम्बनापूर्ण रहेको बताउँदै, यो संसदीय मूल्य र मान्यता विपरीतको कार्य भएको ठहर गरेको छ।

राप्रपा नेपालले भनेको छ, “संविधान संशोधनको निम्ति नयाँ गठबन्धन बनाउनु परेको तर्क केवल सत्ता आरोहणलाई पुष्टि गर्ने बहाना मात्र हो। नेपाली कांग्रेस वा एमाले दुवैले आजसम्म आफ्नो पार्टी निकायमा संविधान संशोधन वा पुनरावलोकनको बारेमा कुनै छलफल वा निर्णय गरेका छैनन्। केवल सतही सुधारले देशले भोगिरहेको संकटको समाधान हुन सक्दैन। देशलाई संकटबाट मुक्त तुल्याउन संघीयता, धर्मनिरपेक्षता, र गणतन्त्रको विकल्प खोज्ने साहस गर्नुपर्छ।”

राप्रपा नेपालले अहिलेको अवस्थामा सतही संविधान संशोधन होइन, धर्मनिरपेक्षता, गणतन्त्र, र संघीयताबारे पुनरावलोकन गरी सबै नेपालीलाई अटाउने हिन्दु राष्ट्रसहितको राजनीतिक प्रणाली निर्माण गर्न सर्वपक्षीय सम्मेलन वा जनमत संग्रहको माग गरेको छ। संविधान संशोधन चर्चामा समावेशी र समानुपातिक मान्यता समेटिएको उल्लेख गर्दै, विकृतिहरू हटाउनुको सट्टा समानुपातिक प्रणालीलाई विस्थापित गर्नु सर्वसत्तावादी सोचको परिणाम भएको बताएको छ। साथै, नक्कली भुटानी शरणार्थी काण्ड, सुन तस्करी, गिरीबन्धु टि स्टेटको ब्रम्हलुट, ललिता निवास जग्गा कब्जा, टेरामेक्स काण्ड लगायतका भ्रष्टाचारका फाईलहरू अब दबाइने र भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिइने आशंका बढेको बताएको छ।

तपाईको प्रतिक्रिया