शनिबार, आषाढ २२, २०८१
Saturday, July 6, 2024

‘सबै परिस्थिति र तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्क भएर काम गरे हुन्छ । हामीलाई हटाउन सजिलो छैन । हामीसँग जादुवाला नम्बर छ । जादुले अनेक गरेर मिलाइहाल्छ,’ असार ८ गते पार्टीनिकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए ।

उक्त धारणा सार्वजनिक भएको ९ दिनमै राजनीतिक समीकरण नयाँ ढंगले विकसित भएको छ । २०७९ को निर्वाचनबाट संसद्को पहिलो दल बनेको नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच प्रतिनिधिसभाको बाँकी अवधिमा सत्ता सहकार्य गरेर जाने सहमति सार्वजनिक भएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीसँग जादुयी नम्बर भएको र परिस्थिति अनुकूल भएमा पूरै अवधि सरकार चलाउने बताए पनि नयाँ समीकरणले उनको सरकार ढल्ने निश्चित देखिएको छ ।

०७९ पुस १० मा प्रधानमन्त्री बनेका दाहाल नेतृत्वको सरकार १८ महिनामा चलिरहेको छ । यसै अवधिमा दाहाल स्वयंले तीन पटक समीकरण फेरेका थिए । चुनावअघि कांग्रेससहितका दलहरूसँग उनको सहकार्य थियो । चुनावलगत्तै नेकपा एमालेसहितका दलसँग सहकार्य गरेर सरकारको नेतृत्व गरे । त्यो समीकरण लामो समय टिक्न सकेन । दुई महिना एमालेसँग मिलेर सरकार चलाएका उनले लगत्तै चुनावअघिकै समीकरण बनाएर सरकारको नेतृत्व गरे ।

सरकारमा कांग्रेससहितको सहकार्य पनि धेरै लम्बिन सकेन । गत फागुन २१ मा एकाएक पुनः कांग्रेससँगको सत्ता साझेदारी तोडेर प्रचण्डले नेकपा एमाले लगायतका दलहरूसँगको सहकार्यमा आफ्नो सरकारलाई निरन्तरता दिइरहेका थिए । डेढवर्षे अवधिमा यसरी तीन पटक समीकरण फेर्दै निरन्तर पदमा रहिरहेका उनले संसद्का दुई पार्टीलाई एकपछि अर्को गर्दै ‘हात लिएर’ निरन्तर सरकार चलाइरहने योजना बनाए पनि सोमबार कांग्रेस–एमालेको सहमतिले त्यो योजना भत्काइदिएको छ ।

प्रधानमन्त्रीले भन्दै आएको ‘म्याजिक नम्बर’ यसपटक भने असफल भएको छ । कांग्रेस–एमाले दुवै २०७९ मंसिरको निर्वाचनपछि दाहाल नेतृत्वको सरकारमा सहभागी भए पनि अहिले भने त्यसलाई विस्थापित गर्ने समीकरण तयार भएसँगै दाहालको सरकारमा पूर्णबिराम लागेको छ । निर्वाचनपछि दुई वर्ष नपुग्दै माओवादीबाट पालैपालो धोका पाएका संसद्का दुई ठूला दल संविधान संशोधनको अजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएपछि आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने दाहालको योजना रोकिएको हो ।

माओवादीलाई सरकारको नेतृत्व दिइरहँदा स्थिरता आउने अवस्था नदेखिएपछि अन्ततः दुई ठूला दल मिलेर सरकार निर्माण र अन्य विषयमा सहमति भएको नेताहरु दाबी गर्छन् । दाहाल नेतृत्वको सरकारले स्थायित्व दिन नसक्ने देखिएपछि दुई दल एक ठाउँमा आउनुपरेको नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल बताउँछन् । ‘प्रधानमन्त्रीको ध्यान सत्ता जोगाउने र बाहिर बस्नेहरूको ध्यान प्रधानमन्त्री बदल्नेभन्दा बढी भएन । निराशा बढ्दै गयो । त्यसलाई चिर्नुपर्ने थियो,’ उनले भने, ‘सत्ता परिवर्तनका रूपमा मात्र अहिलेको समीकरणलाई बुझ्दा गलत हुन्छ । असाधारण परिस्थिति थियो । त्यसको निकासका लागि कांग्रेस र एमाले मिल्नुपरेको हो ।’

निर्वाचनलगत्तै पहिलो पटक प्रधानमन्त्री भएपछि कहिले कांग्रेससँग मिलेर एमालेलाई धोका त कहिले एमालेसँग मिलेर कांग्रेसलाई धोका दिँदै निरन्तर आफू नेतृत्वको सरकार चलाइरहेको आरोप दाहालमाथि लागेको थियो । दुवै ठूला दलले फरक–फरक समयमा प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन सघाए पनि उनको कार्यशैलीबाट भने उनीहरू सन्तुष्ट थिएनन् । त्यही भएर पनि उनीहरूले भित्रभित्रै नयाँ समीकरण बनाएर जाने विषयमा छलफल चलाई नै रहेका थिए । शीर्ष तहमा भने त्यो छलफल भइसकेको थिएन ।

पछिल्लो एक महिना यताबाट मात्र देउवा र ओलीबीचको छलफलले निरन्तरता पाएको थियो । त्यसकै परिणामस्वरूप सोमबार मध्यरातमा समीकरण तय हुन पुगेको हो । तर झन्डै दुईतिहाइ मत स्पष्ट रूपमा विपक्षमा उभिए पनि प्रधानमन्त्री प्रचण्ड पद त्याग भने तयार छैन । उनले विश्वासको मतको सामना गर्ने आँट गरेका छन् ।

तपाईको प्रतिक्रिया