काठमाडौं – स्थापनाको छोटो समयमै संघीय संसद्का २१ सिट जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी संकटतिर धकेलिएको प्रतिवेदन महामन्त्री मुकुल ढकालले ल्याएका छन् । महामन्त्री ढकालले वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ बुझाएका हुन् ।
उनले उक्त प्रतिवेदन बुधबार पार्टी सभापति रवि लामिछानेलाई बुझाएका छन् । उनले उक्त प्रतिवेदनमा गठनको दुई वर्षमै पार्टी तत्कालीन ‘विवेकशील’ कै बिजोग अवस्थामा पुग्न लागेको निष्कर्ष सुनाएका हुन् । ‘पार्टीमा पहिलेको जस्तो ‘चार्म’ छैन, जनतामा आकर्षण घट्दै गएको छ’, ढकालले भने, ‘विस्तारै पार्टीको चार्म सकिँदै गएको छ ।’
उनले सहकारी प्रकरणले मात्रै नभएर पार्टीले गरेका वाचा पूरा नगर्दा पनि जनतामा निराशा बढेको बताए । ‘सहकारीले मात्रै होइन, हामीले गरेको वाचाअनुसार काम नहुँदा निराशा बढेको छ’, उनले भने, ‘जनतामाझ जाँदा पार्टीको अवस्था संकटग्रस्त भएको देखेँ । हाम्राअगाडि ठूला चुनौती देखिएका छन् । मैले यसबारे नेतृत्वलाई घच्घच्याउन खोजेको छु ।’
उनले प्रतिवेदनमा पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्नु हितकर हुने समेत सुझाव दिएका छन् । आफूले जन्माएको पार्टी भएकाले प्रतिवेदनमा यथार्थ कुरा उल्लेख महामन्त्री ढकालको भनाई छ ।