समाचार सुन्नुहोस :
काठमाडौँ – झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११, नयाँ बसपार्कस्थित पदम बडी निर्माण ग्यारेजमा आगलागी हुँदा ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बिर्तामोड नगरपालिका वडा नम्बर ३ का कमल कालिकोटेले सञ्चालन गर्दै आएका ग्यारेजमा आइतबार बिहान करिब साढे सात बजे आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो। यस आगलागीमा ग्यारेजभित्र रहेका गाडीका पाटपुर्जा र ग्यारेजको टहरो पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगो स्थानीय बासिन्दा, प्रहरी, र दमकलको सहयोगमा बिहान ८ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: आइतबार, आषाढ ०९, २०८१
प्रकाशित समय: १५:५२:०९