समाचार सुन्नुहोस :
काठमाडौँ – संघीय संसद्का कर्मचारीहरूले लिखित सम्झौता नभएसम्म आफ्नो आन्दोलन जारी राख्ने घोषणा गरेका छन्। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आन्दोलनरत कर्मचारीहरूको माग पूरा गर्न आयोजित छलफलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन, कानुन, न्याय मन्त्री पदम गिरी, मुख्य सचिव डा. वैकुण्ठ अर्याल, र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे सहभागी थिए।
छलफलपछि, प्रधानमन्त्री प्रचण्डले कानुन मन्त्री गिरीको नेतृत्वमा सहजीकरण समिति गठन गरेका छन्, जसमा अर्थ मन्त्रालयका सचिव र संघीय संसद् सचिवालयका महासचिव सदस्य रहनेछन्।
तर, संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्बासे जैसीले सरकारद्वारा सहजीकरण समिति गठन मात्र भएको र माग संशोधन नभएसम्म आन्दोलन नरोकिने बताएका छन्। कर्मचारीहरूले अतिरिक्त समयमा काम गरेको भत्ताको वृद्धि, घरभाडा भत्ताको वृद्धि लगायतका ११ बुँदे माग राख्दै आन्दोलन गर्दै आएका छन्।