समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालका लागि प्रहरी संगठन प्रमुख (आईजीपी) परिवर्तन नहुने स्पष्ट पारेका छन्। सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेको प्रश्नको उत्तर दिँदै उनले आईजीपी परिवर्तनसम्बन्धी समाचारहरू केवल अफवाह भएको बताए।
‘केही दिन अघि मात्रै तीनवटा आईजीपीलाई बोलाएर भनेको छु, अहिले कुनै परिवर्तन हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरू ढुक्कसँग काम गर्नुस्, त्यही स्पिडमा उहाँहरूले काम गरिरहनुभएको छ।’
उनले चलिरहेको हल्लालाई अफवाह मात्रै भएको पुनः उल्लेख गरे। ‘आईजीपी परिवर्तन अहिले हुँदैन, यो अफवाह मात्रै हो,’ उनले जोड दिए। साथै, प्रचण्डले वर्तमान सत्ता समीकरणमा पनि कुनै परिवर्तन नहुने बताए।
सञ्चारकर्मीले ‘उथलपुथल गर्ने बेला त आएको छैन नि?’ भन्ने जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले उत्तर दिदै भने, ‘अहिले त्यस्तो केही छैन। यो सरकार राम्ररी चलिरहेको छ। बाहिर मिडियामा आउने धेरै अफवाहहरूमा कुनै सत्यता छैन।’