बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024
  • मोहन खतिवडा

भक्तपुर – साहित्यलाई माया र सम्मान गर्ने भएकोले केही समय अघि सुषमा आचार्य’अंशु’को ‘अक्षरको आयतन’ कविता संग्रह हाता पर्‍यो । गोदावरी-२,ललितपुरमा जन्मिएकी कवि विद्यावारिधि अनुसन्धानरत शोधार्थी पनि हुन् । उनको छयहत्तर पृष्टको उक्त कविता संग्रहमा छत्तिस ओटा कविता अटाएका छन् जसमा हरेक कवितामा फरक फरक विषयवस्तुको उठान गरिएको छ ।

उनी कवितामा लेख्छिन् :-

म मात्रै छोरी भएको कारण
आकाश छुन खोज्दा
आँगन बिर्सनु पर्ने भएको छ
क्षितिजको ढोका उघार्न खोज्दा
घरको दैलो बन्द गर्नुपर्ने भएको छ
मैले शिखर चुम्न चाहँदा
समाजको सिमाना नाघेको आरोप खेप्नु परेको छ ।

ती आकाशका तारा हेर्छु
कहाँ एकसमान चम्किएका छन् र ?
अनि आफ्नो मनलाई सान्त्वना दिन्छु
र धिक्कार्छु विभेदकारी समाजलाई ।

कवि अंशुका कवितामा यो समाजको यथार्थता पाउन सकिन्छ।समसामयिक समाजको विकृति र विसङ्गतिलाई नराम्रोसँग झटारो हानेकी छिन् उनले सृजनाको माध्यमबाट।कलात्मक कविता प्रस्तुति साथै भावनात्मक बिम्ब प्रशस्ति भेटिन्छ उनका कविताहरूमा । साहित्य दुई किसिमले पढ्ने र बुझ्ने गरिन्छ समाजमा कि त हृदयले पढिन्छ कि मस्तिष्कले । अंशुका अधिकांश कविताहरू हृदयले पढ्ने कविता छन् ।

समाजका यावत यथार्थतालाई सर्लक्क टिपेर शब्दमा कला भर्दै र पाठकहरूको हृदयसम्म पुर्‍याउन सक्नु ऊनको कलात्मक विशेषता पनि हो । ऊनका सरल बिम्बात्मक कविताले पाठकहरूको मनमा समसामयिक चेतना पनि जगाउँछ ।

उनी ‘मनोविज्ञान’ कवितामा लेख्छिन्:-

सपनाको सलाई कोरेर
रहरै रहरको दाउरामाथि
कल्पना लास बनेर लमतन्न सुतेको छ
आशाको बत्ती बालेर
हुर्हुरि बलेको चिताको आगोले ताप दिए पनि
हृदय हिउँ जस्तै चिसो भएको छ ।

ऊनले कवितामा मानव असन्तुष्टि,बेचैन र विडम्बनालाई प्रस्तुत गरेकी छिन् । उनी प्रेमिल कविताहरूमा पनि उत्तिकै कविता चलाउँछिन् । ऊनका कविताहरूमा नारी चेतनाको आभास पाउन सकिन्छ। स्कुले जीवनमा पाठ्यपुस्तक पढ्न त्यति रुचि नदेखाउने उनी साहित्यिक पुस्तक भने पाएसम्म लुकेर पढिहाल्थिन् रे ! साहित्यलाई असाध्यै माया गर्छिन्, कवितासँग गहिरो प्रेम भएको बताउने उनी आफ्ना जीवन यात्राका अनुभव र अनुभूतिलाई अक्षरका रूपमा कवितामा कोर्ने बताउँछिन् ।

ऊनका दुईवटा सामूहिक कविता तथा गजल संग्रह प्रतिबिम्ब २०७७,संयुक्त कविता संग्रह निषेधाज्ञाका प्रतिबिम्बहरू २०७८ तथा एक सामूहिक गीति संग्रह लयबद्ध २०७८ प्रकाशित भएका छन् । देशको वर्तमान अवस्था, महिलाप्रति हेरिने दृष्टिकोण,रोमान्टिक प्रेम, यात्रा अनुभव, मानव चेतना, वातावरण यी समग्र विषयवस्तुलाई स्रष्टाले एउटै मालामा उनेर सरल भाषामा बिम्बहरूको संयोजन मिलाई यो कविता सङ्ग्रहको प्रकाशित गर्नुभएको छ ।

कलम चलाउनेहरू परिवर्तनका वाहक हुन्छन्, चलिआएको चलनप्रति सही वा गलत ठम्याई परिवर्तन र चेतनाका लागि कलम चलाउनेहरू सधैँ पाठकहरूको नजरमा बसिरहन्छन् । कवि पनि सामाजिक कुरीतिहरू फ्याकि नयाँ युग सुहाउँदो परिवर्तन हुनु पर्नेमा कलमद्वारा सशक्त आवाजहरू बुलन्द गर्छिन् । कविका आउँदा दिनहरूमा पनि यस्तै परिवर्तनमुखी सशक्त आवाजहरू कलमबाट खारियून् अझै नयाँ प्रशस्तै कृतिहरू पढ्न पाइयोस् सफल कृतिको कामना गर्दछु ।

तपाईको प्रतिक्रिया