काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले ३१ मतसहित विश्वासको मत प्राप्त गरेका हुन् ।
उनलाई उनको दल नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २, स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेसपाका फणीन्द्र देवकोटाले विश्वासको मतको पक्षमा मतदान गरेका हुन् ।
त्यस्तै उनको विपक्षमा एमालेका २२, माओवादी केन्द्रका ६ प्रदेश सभा सदस्य गरी २८ मत परेको हो । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक रहन्छ ।
यो मुख्यमन्त्री पाण्डेको दोस्रो कार्यकाल हो । उनी यसअघि गण्डकीको ११ महिना सरकारको नेतृत्व गरेका थिए । तर केन्द्रीय राजनीतिक समीकरणमा आएको फेरबदलपछि उनले राजीनामा दिएका थिए । त्यसपछि नियुक्त भएका मुख्यमन्त्री एमालेका खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरे पनि त्यसमा सभामुखको समेत समर्थन रहेपछि उक्त विषय सर्वोच्च अदालतमा पुगेको थियो ।
सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मत अवैध रहेको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चको आदेश अनुसार पाण्डे गत जेठ १६ गते गण्डकीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।