काठमाडौं – वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया पुगेका एक नेपालीको मृत्यु भएको छ । कोरिया पुगेको साता दिनमै जाजरकोटको छेडागाड नगरपालिका-३ का हरिचन्द्र अधिकारीको मृत्यु भएको हो ।
२०७८ सालमा प्रहरीको जागिर खाएपनि त्यसबाट घरखर्च चलाउन धौधौ भएपछि उनी कोरिया गएका थिए । २०७९ मा इपिएस परीक्षा पास गरेपनि पालो पर्खँदापर्खँदै २ वर्षपछि प्रहरीको जागिर छाडेर यही जेठ १४ गते उनी कोरियातर्फ उडेका थिए । तर, उता पुगेर काम थालेको ३ दिनमै उनी बिरामी परे ।
त्यसको ३ दिनमै उनले संसार छाडे । उमेरले २५ मात्रै पुगेका उनको मृत्युले परिवारमा ठूलो बज्रपात परेको छ । २ वर्षीया काखे छोरी बोकेर श्रीमान् आउने पर्खाइमा रहेकी श्रीमती प्रतीक्षाको सिउँदो पनि कलिलै उमेरमा पुछिएको छ ।
न्यून पारिश्रमिक र घरपरिवारको ठूलो जिम्मेवारीले प्रहरीको सेवामा टिक्न नसकेर विदेश गएका उनी यो संसारमै टिक्न सकेनन् । गएको एक हप्तामै दाइको मृत्युको खबरले बिहे गरेर गइसकेकी ज्ञानु अधिकारी न्यौपाने पनि स्तब्ध भएकी छिन् । ‘भगवान कोरिया पुगेको हप्ता दिन नपुग्दै हाम्रो घरको खुसी खोसिस्, मेरो दाइलाई सधैँ खुसी राखेस्’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।