समाचार सुन्नुहोस :
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि जनकपुरमा राष्ट्रिय महाधिवेशन सुरु गर्दैछ। जसपाका अनुसार, महाधिवेशन जेष्ठ ३० गतेसम्म सञ्चालन हुनेछ। जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा महाधिवेशन स्थल निर्माण गरिएको छ, जसको उद्घाटन अध्यक्ष उपेन्द्र यादवले दिउँसो १ बजे गर्ने छन् ।
महाधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ। उद्घाटन समारोहमा विभिन्न मुलुकका प्रतिनिधिहरू र राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको छ। तर, अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी (जसपा) लाई भने आमन्त्रण गरिएको छैन, जसका बारेमा नेता मनिष सुमनले जानकारी दिए।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पार्टी विभाजनको कारणले अध्यक्ष पदमा उपेन्द्र यादव पुनः चयन हुने लगभग निश्चित छ। महाधिवेशनले अध्यक्षसहित सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ सहित २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्यहरू निर्वाचित गर्नेछ।