समाचार सुन्नुहोस :
काठमाडौँ – कान्तिपुर सेभिङ्गका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ लाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार उनलाई केन्द्रीय कारागारमा राखिएको छ भनेर जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए। तामाङलाई प्रहरीले जेठ १८ मा पश्चिम चितवनबाट पक्राउ गरेको थियो।
कान्तिपुर सेभिङ्गमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार रुपैयाँ अपचलन गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ छ। यस बिगो कायम गरेर सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिएको छ, भनी प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले जनाए। तामाङसहितका सञ्चालकविरुद्ध ८५२ जना बचतकर्ताले जाहेरी दिएका छन् र पूरक जाहेरी आउने क्रम जारी रहेको छ।
सहकारीको रकम अपचलन गरेको आरोपमा कान्तिपुरका अध्यक्ष हिमाल विक्रम मल्ल पनि कारागारमा थुनामा छन्। ५४ वर्षीय मल्ल कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–९ का स्थानीय हुन्। कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका अन्य ६ जना सञ्चालकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। कोषाध्यक्ष ५२ वर्षीय प्रेमध्वज लामा, सचिव ४९ वर्षीय जोगलाल लामा, सदस्यहरू सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा, र देवराज पराजुलीविरुद्ध पुर्जी जारी भएको छ। फरार प्रतिवादीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।