समाचार सुन्नुहोस :
काठमाडौँ – भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी फेरि नियुक्त भएका छन्। शुक्रबार राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। उनले आइतबार शपथ लिनेछन्। सत्तारुढ गठबन्धन एनडीएको शुक्रबार बसेको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको थियो, जसपछि मोदीले नयाँ सरकार बनाउने दाबी राष्ट्रपतिसमक्ष पेश गरेका थिए।
राष्ट्रपतिसँगको भेटपछि, मोदीले आफूलाई नवनिर्वाचित प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ। मोदीले आइतबारसम्म मन्त्रिपरिषद्को सूची राष्ट्रपतिसमक्ष पेश गर्ने बताएका छन्। नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। उनी पहिलोपटक २०१४ मा र दोस्रो पटक २०१९ मा प्रधानमन्त्री बनेका थिए। हालै सम्पन्न लोकसभा चुनावमा सत्तारुढ गठबन्धन एनडीएले बहुमत प्राप्त गरेपछि उनी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्।
५४३ सदस्यीय लोकसभामा एनडीएले २९२ सिट जितेको छ, जसमा भाजपा एक्लैले २४० सिट प्राप्त गरेको छ। यसअघि मोदी एनडीएबाटै प्रधानमन्त्री बने पनि भाजपाको एकल बहुमत थियो। तर यस पटक भाजपाले एकल बहुमत ल्याउन नसकेकाले गठबन्धनका दलहरूको महत्व बढेको छ। त्यसैले, यस पटक मोदीलाई कमजोर प्रधानमन्त्री हुने विश्लेषण भइरहेको छ।