समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको आलोचनालाई लिएर प्रतिक्रिया जनाएका छन्। शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले बालेनको शैलीलाई व्यंग्य गर्दै भने, “झिँगाले भैंसीको ढाडमा चार लात हाने जस्तो मात्र हो, भैंसीले त थाहा पनि पाउँदैन। झिँगा भने दंग परेको हुन्छ कि चार लात हानेँ।”
ओलीले आफू अनावश्यक विवादमा पर्न नचाहेको स्पष्ट पारे। उनले भने, “राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार र सभ्य बनाउनु पर्छ, असभ्य राजनीतिमा होइन।” काठमाडौं महानगरपालिकाको नेतृत्वमा सडक विभागअघि धुलो खसालिएको र न्यूरोडमा फुटपाथ बढाइएको घटनामा एमालेसँग असमझदारी बढेको छ। मेयर बालेनले ओलीलाई गिरीबन्धु प्रकरणमा जोड्दै फेसबुकमा आलोचनात्मक स्टाटस लेखेका थिए।
बालेनले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति प्रयोग गरेर न्यूरोडमा बनाइएको फुटपाथलाई सडकमा परिवर्तन गरिएको भन्दै ओलीको आलोचना गरेका थिए। ओलीप्रतिको बालेनको अभिव्यक्तिप्रति एमाले सांसद योगेश भट्टराईले प्रतिनिधि सभामा प्रतिवाद गरेका थिए।