टोकियो – जापानमा नेपालीहरुको संख्या बढेर झण्डै पौने २ लाख पुग्नै लाग्दा ठूलो संख्याका जापानीहरु भने नेपाल र नेपालीहरु बारे अझै पूरै अनभिज्ञ छन् । यसो हुनुमा कसको कमजोरी भन्ने बारे छुट्टै बहसको बिषय बन्ला तर नेपाल र नेपालीका बारेमा जापानमा जति प्रचार-प्रसार हुनुपर्थ्यो त्यति हुन नसक्दा कैयन् अवसरहरुबाट नेपालीहरु वञ्चित हुनुपरेको बताउँछन् एलडिपीका नेता एवं पूर्व सांसद समेत रहेका इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेशनका कार्यकारी प्रमुख कोमियामा योशीहारु । उनले धेरै वर्ष अगाडिदेखि नेपाल र नेपालीहरुलाई विभिन्न ढंगले सहयोग गर्दै आईरहेका छन् । जापानी भाषा, ब्यवसायिक कोर्स तथा युनिभर्सिटी अध्ययनका लागि जापान आएका नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएर जापानमा काम गर्नका लागि योग्य बनाउने उनको अभियान लोभलाग्दो छ । नेपाल सरकारका तर्फबाट जापानका लागि तत्कालिन सदभावना दूत समेत रहेका कोमियामा जापानमा रहेका नेपाली समुदायबीच नौलो नाम भने होइन । उनकै पहलमा हालसम्म सयौं नेपाली विद्यार्थीहरु जापानमा छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । जापानीहरु माझ नेपालीहरुको इमेज, सुधार्नुपर्ने पक्ष र जापानको श्रमबजारमा नेपालीहरुका लागि संभावना एवं अवसरका बारेमा उनै कोमियामासंग गरिएको कुराकानीको संपादित अंशः
छात्रवृत्ति प्रदान गरेर विदेशी विद्यार्थीहरुलाई अध्ययन गर्न प्रेरित गर्नुको उद्देश्य के होला ?
जापानमा हरेक क्षेत्रमा काम गर्ने जनशक्तिको चर्को अभाव छ । खस्कदों जनशक्ति अभावलाई पूर्ति गरी जापानी अर्थतन्त्रलाई उकास्न पनि विदेशी जनशक्ति भित्र्याउनुको विकल्प छैन । त्यसैले जापानमा अध्ययनका लागि आईसकेका विदेशी विद्यार्थीहरुलाई अहिलैदेखि भोलिका लागि योग्य जनशक्ति तयार गर्न छात्रवृत्तिमार्फत अध्ययन गर्न प्रोत्साहन गरिएको हो । हामीले जापानी भाषा कोर्स, भोकेशनल कोर्स र युनिभर्सिटी तहको उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आईरहेका छौं । उनीहरुले जापानी भाषा राम्रो बनाउनुका साथै कुनै एक क्षेत्रमा दखलता हासिल गरुन् जसले गर्दा भोलि काम पाउन सहज होस् भन्ने हाम्रो उद्देश्य हो । यसरी विदेशी विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने निजी क्षेत्रका हामी एकमात्र संस्था हौं ।
जापानमा नेपाल र नेपाली बारे जापानीहरु कत्तिको जानकार छन् ?
यो असाध्यै खड्केको बिषय हो । जापानमा नेपालीहरुको संख्या झण्डै पौने २ लाख पुग्न लागिसक्यो तर नेपाल र नेपालीहरु बारे अनभिज्ञ जापानीहरुको संख्या ठूलो छ । यसो हुनुमा नेपाल सरकारको तर्फबाट समय समयमा अपेक्षित पहल हुन नसकेको एउटा कारण हो भने अर्को नेपालमा जापानी उद्योग, धन्दा, कलकारखाना तथा कम्पनीहरु छैनन् । सस्तो जनशक्तिका कारण जापानका निजी क्षेत्रका कम्पनीहरुले श्रीलंका, बंगलादेश, चीन, भियतनाम जस्ता देशहरुमा आफ्ना ब्यवसाय बिस्तार गरिरहेका छन् तर नेपाल भूपरिवेष्ठित देश भएको कारण उत्पादन भएका सामान ढुवानी गर्न खर्चिलो हुने हुँदा नेपालले यो अवसर गुमाउनुपरेको छ । अर्कोतर्फ नेपालमा आफ्नै उद्योग, धन्दा, कलाकारखानाहरु पनि पर्याप्त छैनन् । भएका सीमित नेपाली उत्पादनले जापानी बजारमा त्यति स्थान पाउन सकेका छैनन् । जसको कारण पनि नेपाल र नेपालीहरु चिन्ने जापानीहरुको संख्या अपेक्षित बढ्न नसकेको हुनुपर्छ ।
जापानीहरु माझ नेपाल र नेपालीलाई अझ बढि चिनाउन के गर्नुपर्ला ?
यसमा विशेष गरी नेपाल सरकारले ध्यान दिनुपर्छ । जापान सरकारको समेत ध्यानाकर्षण हुने गरी सरकारीस्तरमा विभिन्न गोष्ठि, सेमिनार तथा प्रवर्धानात्मक कार्यक्रमहरु गर्नुपर्छ । त्यस्ता कार्यक्रमहरु मार्फत आफ्नो देशको पर्यटकीय गन्तब्यहरुको प्रचारप्रसार गर्नुका साथै वैदेशिक रोजगारीको आकर्षक गन्तब्य मुलुक जापानको श्रम बजारलाई भरपुर उपयोग गर्न सक्नुपर्दछ । यसका साथै समय समयमा उच्चस्तरिय भ्रमणहरु भईरहनु आवश्यक छ ।
जापानीहरुको दृष्टिकोणमा नेपालीहरुको इमेज कस्तो पाउनुहुन्छ ?
जापानीहरुको नजरमा नेपालीहरु एकदम मिहिनेती, इमान्दार र कामप्रति लगनशील मानिन्छन् । जसका कारण उनीहरुले जापानीहरुको विश्वास आर्जन गरेका छन् । यसका साथै नेपालीहरुको जापानी भाषा तुलनात्मकरुपमा अन्य देशका विदेशीहरुको भन्दा राम्रो छ । जापानी भाषा बोल्दा नेपालीहरुको उच्चारण जापानीहरुसंग झण्डै मिल्दोजुल्दो छ । जुन कुरो अन्य जापानी भाषा स्कुलहरुमा गएर पनि बुझ्न सकिन्छ । उनीहरुको अर्को विशेषता भनेको प्रायः नेपालीहरु सबैले अंग्रेजी जान्दछन् । जुन बहुसंख्यक अन्य विदेशीहरुमा लागू नहुन सक्छ ।
नेपालीहरुले सुधार्नुपर्ने पक्ष के होला ?
जापानमा रहेका नेपालीहरुलाई मैले दुईवटा क्याटगोरीमा विभाजन गरेर हेर्ने गरेको छु । जापानी कम्पनीहरुमा स्थायी कर्मचारीकारुपमा काम गर्ने एकथरि नेपाली पूरै हामी जापानी जस्तै छन् । अर्कोथरि नेपालीहरु जापानमा बसेर पनि काम पनि नेपालीसंगै गर्ने गरेको, नेपाली रुल र नेपाली सिष्टमअनुसार चल्ने गरेको देखिन्छ । उनीहरुले समयको महत्वबारे त्यति ख्याल राख्ने गरेको पाईदैन । जसले गर्दा अर्को पक्षलाई के कति बाधा पर्न सक्छ भन्ने बिषयलाई एकदमै हलुकारुपमा लिईएको पाईन्छ । समयको महत्व, नियम र अनुशासनको पालनामा विशेष ध्यान दिन सकेमा जापानीहरुसंग पनि सहकार्य गर्न सजिलो हुनसक्छ ।
जापानमा भएका पछिल्ला नेपाल फेस्टिवलहरुमा यहाँको पनि सहकार्य हुँदै गर्दा अनुभव कस्तो रह्यो ?
एनआरएन जापानले दर्जनौ पटक जापानमा नेपाल फेस्टिवल सम्पन्न गरेको विगत भएता पनि कुनै पनि पार्कमा १ पटकभन्दा दोस्रो पटक गर्न नपाएको तीतो अनुभव रहेछ । कारण फोहोरमैलाको उचित ब्यवस्थापन गर्न नसक्नु, होहल्ला बढि गर्नु र नियम तथा सर्तको पालना नगर्नु लगायत रहेको पाईयो ।योयोगी पार्क, हिबिया पार्क, कोमाजावा पार्क, उएनो पार्क लगायतका वर्षौपिच्छे फरक फरक ठाउँमा नेपाल फेस्टिवल सम्पन्न गर्दै आईरहेको सन्दर्भमा सन् २०२२ को फेस्टिवलमा संयोगवश म जोडिन पुगेको हुँ । नाकानो कु का मेयर चिनेजानेका साथी भएकाले नेपाल फेस्टिवलका लागि नाकानो पार्क उपलब्ध गराईदिन अनुरोध गर्दा उपलब्ध गराउने आश्वासन पाएको १ घण्टा नबित्दै उपलब्ध गराउन नसक्ने जानकारी प्राप्त भयो । कारण विगतको फेस्टिवलमा आयोजकले नियम तथा सर्तहरु पालना नगरेको भन्ने बुझियो । आफु पनि आयोजक कमिटी मै रहेर जस्ताको तस्तै पार्क फिर्ता गर्ने प्रतिबद्धता जनाउँदै पुनः अनुनय विनय गरी अनुरोध गरेपश्चात नाकानो पार्क फेस्टिवलका लागि उपलब्ध हुन सकेको हो । २०२२ मा बडो होशियारीपूर्वक कुनै त्रुटी हुन नदिई फेस्टिवल सम्पन्न गरिएकै कारण २०२३ मा पनि सोही पार्कमा फेस्टिवल संभव भएको हो । अरु देशको फेस्टिवलमा पर्फमेन्स, स्टल सम्बन्धित देशका हुने भएता पनि आयोजक जापानीहरु हुने भएकोले यस्तो समस्या देखिदैन । नेपालीहरुमा भने यो समस्या निकै विकराल हुने गरेको पाईन्छ ।
नेपाल फेस्टिवलका सन्दर्भमा यहाँको सुझाव के छ ?
नेपालीका लागि नेपाल फेस्टिवल हो भने ठीकै छ, किन भने फेस्टिवलका ९५ प्रतिशत अवलोकनकर्ता नेपालीहरु नै हुने गरेको पाईन्छ । नेपालीहरुले भरपुर मनोरञ्जन लिने गरेको पनि देखिन्छ । तर जापानीहरुको लागि हो भने अलि फरक ढंगले सोचिनुपर्दछ । जापानमा नेपाल र नेपाली चिनाउन जापानीहरुलाई नै लक्षित गर्दा प्रभावकारी हुनसक्छ ।
जापानमा यत्रतत्र नेपालीका रेष्टुरेन्टहरु भेटिन्छन्, यसबारे यहाँको धारणा के छ ?
रेष्टुरेन्ट ब्यवसाय गर्दा आफ्नो भिसाको समस्या हल हुनुका साथै स्वरोजगारी पनि हुने, जहानबच्चाका लागि डिपेन्डेन्टमा बोलाउन र राख्न पनि पाईने भएकोले धेरैभन्दा धेरै नेपालीहरुको रोजाई रेष्टुरेन्ट ब्यवसाय हुने गरेको हो भन्ने हामी जापानीहरुले राम्रोसंग बुझेका छौं । यो स्वभाविक पनि छ । यसै ब्यवसाय अंगालेर कतिपयले धेरै राम्रो प्रगति पनि गर्नुभएको छ । हामी जापानीहरुका लागि पनि जाउँ-जाउँ लाग्ने रेष्टुरेन्टहरु पनि खुलिरहेका छन् । मैले पनि हप्तामा २ पटक नेपाली रेष्टुरेन्टतिरै खाना खाने गरेको छु ।
जापानको श्रमबजारमा प्रशिक्षार्थी कामदारको अवसरबाट अपेक्षित फाईदा लिन नसकेको नेपालले अब तोकुतेइ गिनोउ (एसएसडब्लु) को अवस्था कस्तो देख्नुहुन्छ ?
प्रशिक्षार्थी कामदारका सवालमा केहि असजिला प्रावधानहरुका कारण अन्य देशहरुको तुलनामा अपेक्षा गरिएअनुसार नेपालीहरु जापान आउन सकेनन् । केहि प्रावधानहरु सच्याउन नेपाल सरकारलाई हामीले सुझाव दिएका थियौं, जसअनुसार करेक्शन पनि भएको थियो । तोकुतेइ गिनोउका सन्दर्भमा १४ सेक्टर मध्य नेपालीका लागि जम्मा ३, ४ सेक्टर सिफारिश गरिएको छ, यो दायरालाई फराकिलो बनाउनुपर्छ । केही प्रावधानहरु श्रमिकमैत्री बनाउनुपर्ने देखिन्छ । वैदेशिक रोजगारीका लागि जापानमा एकपछि अर्को ढोकाहरु खुल्दै गर्दा नेपाल सरकारले सो अनुरुप अग्रसरता देखाएर आफ्ना नागरिकलाई सो अवसरबाट लाभान्वित हुन सहजीकरण गर्नुपर्ने देखिन्छ ।
अन्त्यमा, नेपालको सद्भावना दूत समेत रहीसक्नुभएको हैसियतले नेपाल सरकारलाई यहाँको सुझाव के छ ?
जापानीहरुमाझ नेपालीहरुको चिनारी बढाउन चाहान्छौं । नेपाली विद्यार्थीहरु जो जापानमा अध्ययन गर्दैमा उनीहरु सबैको भोलिको रोजगारी ग्यारेन्टी हुँदैन । त्यहि सुनिश्चित होस् र अध्ययन गरेर योग्य जनशक्ति बन्न सकून् भनेर हामीले छात्रवृत्तिको ब्यवस्था गरेका हौं । यसबाहेक जापानको श्रमबजारमा प्रशिक्षार्थी कामदार र तोकुतेइ गिनोउ (एसएसडब्लु) लगायतका अवसरहरु उपलब्ध छन् । यी र यस्ता बिषयमा खासगरी नेपालीहरुलाई हामीले उच्च प्राथमिकतामा राखेर सहजीकरण गर्दै आईरहेका छौं । अरुभन्दा नेपालीहरु ठीक छन्, विदेशी कामदार राख्नैपरे नेपालीहरुलाई नै रोज्नु उपयुक्त हुन्छ भन्ने आवाज उठाउँदै आईरहेका छौं । तर नेपाल सरकारको प्राथमिकतामा भने यो बिषय परेको देखिदैन । सरकारी तवरबाट तदारुकताकासाथ पहलकदमी हुन सके परिणाम देखिनेगरी तिब्रगतिमा काम हुन सक्छ । चाहे जापानमा नेपाल र नेपाली चिनाउने काम होस् वा चाहे जापानको श्रमबजारमा नेपालीहरुको उपस्थिति सहज बनाउने काम होस् ।***
(प्रस्तोता: तिलक मल्ल)