Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने साउन्ड सिस्टम व्यवसायीहरूको विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाएको छ । यो स्तरको अव्यवहारिक र असहिष्णु अभिव्यक्ति तुरुन्त सच्याई कलाकार र साउन्ड सिस्टम व्यवसायीको परिपूरक सम्बन्धलाई स्वच्छ राख्ने वातावरण सिर्जना गर्न प्रतिष्ठानले आग्रह गरेको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी आजीवन सदस्य रहेको गायिका चौहानले गत फाल्गुण २० गते पर्वतमा सम्पन्न मगर महोत्सव- २०८० मा आफ्नो प्रस्तुति राख्ने क्रममा साउन्ड टेक्निसियनसँग विवाद भएको थियो । विवादको विषयलाई लिएर साउन्ड सिस्टम व्यवसायीहरूले जारी गरेको विज्ञप्ति र सो विज्ञप्तिमा उल्लिखित शब्दावलीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कलाकार र साउन्ड इन्जिनियर, टेक्निसियन बिचको अन्योन्याश्रित सम्बन्धलाई समेत ओझेल पार्ने गरि यति संवेदनशील विषयमा एकपक्षीय रूपमा विज्ञप्ति जारी गरि गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने भन्ने जस्ता गैरजिम्मेवार र बहिस्कारको सोचबाट उद्धत अभिव्यक्ति प्रति हाम्रो घोर आपत्ति छ । यो स्तरको अव्यवहारिक र असहिष्णु अभिव्यक्ति तुरुन्त सच्याई कलाकार र साउन्ड सिस्टम व्यवसायीको परिपूरक सम्बन्धलाई स्वच्छ राख्ने वातावरण सृजना गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौँ ।’यही फागुन २० गते पर्वतको कुश्मामा आयोजित मगर महोत्सवमा साउन्ड सिस्टम खराब भएपछि गायिका चौहानले टेक्निसियनसँग गुनासो गरेकी थिइन् । तर टेक्निसियनले उल्टै एलिनालाई ‘पहिले तपाईंको आवाज सफा गर्नुस्’ भन्दै हकारेका थिए । यसमा एलिनाले जवाफ फर्काएपछि भनाभन भएको थियो। यसपछि एलिना आफ्नो प्रस्तुति नसकीकन स्टेजबाट बाहिरिएकी थिइन् ।

घटनाको ५ दिनपछि फागुन २५ गते पाँचवटा साउन्ड सिस्टम कम्पनीले संयुक्त रूपमा विज्ञप्ति जारी गरी एलिनाले माफी नमागेसम्म उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणा गरेका थिए । ‘…हामी कलाकारलाई राष्ट्रको गहनाका रूपमा इज्जत गर्नुपर्छ भन्ने मान्यतामा विश्वस्त छौँ। तर साउन्ड सिस्टम र स्पिकरलाई दोष दिई साउन्ड इन्जिनियरलाई गालीगलौज गर्नेजस्ता अभद्र व्यवहार गायिका एलिना चौहानले गरेको हुँदा हामी सम्पूर्ण साउन्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरू निन्दनीय व्यवहारको घोर भर्त्सना एवम् विरोध गर्छौँ,’ उनीहरूको विज्ञप्तिमा भनिएको थियो, ‘चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म साउन्ड सिस्टम कम्पनी सञ्चालक, साउन्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणाको गर्दछौँ ।’

यता माफी नमागेसम्म साउन्ड सिस्टम उपलब्ध नगराउने व्यवसायीहरूले निर्णय गरेपछि गायिका एलिना चौहानले कमजोरी स्वीकार गर्दै आत्मालोचना गरेकी छन् । आफूले गरेको घटनामा तत्कालीन समयमा आफू आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेको उनले बताएकी छन् ।

 

तपाईको प्रतिक्रिया