काठमाडौं – बाराको निजगढस्थित सहिद चोकमा रहेको वर्कसपमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । मंगलबार उपचारका क्रममा थप २ घाइतेको मृत्यु भएको हो ।
प्रहरीका अनुसार भारत गवई घर हुने ३५ वर्षीय राकेश जयसवाल र वीरगन्ज-९ का २० वर्षीय रीतु रजतको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार उपचारका क्रममा रोहित वर्कसपका सञ्चालक ४५ वर्षीय रेशम पुलामी मगरको मृत्यु भएको थियो । लेथ ग्यास वेल्डिङ गर्दै गर्दा एक्कासि विस्फोट भएपछि मगर घाइते भएका थिए ।
सोमबार सिलिन्डर ग्यास विस्फोट भएको भनिए पनि अझै विस्फोट भएको वस्तु यकिन नभएको प्रहरीको भनाइ छ । कवाडी सामान बेच्ने निजगढ-९ का टीकाराम पाख्रिन र कवाडी सञ्चालक राज भनिने रमेश जयसवाललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।