Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024
  • कोरिया रोजगारीप्रति नेपाली युवा आकर्षणका प्रमुख तीन कारण

काठमाडौं – कोरियन भाषा परीक्षा (इपीएस)का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन् । अन्तिम दिन शुक्रबार राति १२ बजेसम्म १ लाख ४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका हुन् । यो अहिलेसम्मकै धेरै आवेदन हो ।

पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएको थियो । अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपालि अहिलेसम्मकै बढि आवेदन परेको वैदेशिक रोजगार विभागका इपिएस शाखाका निर्देशक गुरूदत्त सुवेदीले जानकारी दिए । अनलाइन प्रणालीबाट आवेदन दिन सकिने व्यवस्था तीन वर्ष अघिदेखि मात्रै सुरू भएको थियो ।

गत साउनमा सञ्चालन भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने हुँदा यसपालि परीक्षार्थीको संख्या १ लाख ७५ हजार हाराहारीमा पुग्नेछन् । गत साउनमा पानी जहाज निर्माणसम्बन्धि कामको लागि इपिएस परीक्षा भएको थियो । यसमा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यसपटकको परिक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो ।

त्यसबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा यो निर्णय विरूद्ध गएका थिए । अदालतले सो समय अनुत्तीर्ण भएकाहरूले पनि यसपटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो । रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा पास गर्नुपर्छ ।

दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ । जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो । यो क्षेत्रको लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिएको छैन ।बढ्दो आकर्षण किन ?
श्रमविज्ञ तथा सरकारी अधिकारीहरूका कोरियाको रोजगारीप्रति नेपाली युवाहरूको आकर्षण बढ्दै जानुमा तीनवटा प्रमुख कारण देखिन्छः-

१. अन्यत्रभन्दा राम्रो तलब
नेपालीहरू धेरै जाने गरेका खासगरी खाडी मुलुकहरूमा त्यति आकर्षक तलब नभएको स्वयं सरकारी अधिकारीहरू पनि स्वीकार्छन् । तर कोरियामा चाहिँ नेपाली कामदारले तुलनात्मक रूपमा राम्रो तलब पाउने गरेका छन् । ‘कोरियामा मासिक न्यूनतम तलब दुई लाख रुपैयाँ हुन्छ । ओभर टाइम काम गर्न पाउनेले अझ बढी कमाउँछन्,’ सुवेदी भन्छन् ।

त्यसमा श्रमविज्ञ मीना पौडेल पनि सहमति जनाउँछिन् । ‘ज्याला धेरै हुनु आकर्षण बढ्नुको एउटा कारण हो,’ उनले भनिन् ।

२.जीटूजीअन्तर्गत जान पाउनु
नेपालले सन् २००८ देखि जीटूजी अर्थात्‌ सरकार-सरकारबीचको समझदारीअन्तर्गत ईपीएस प्रणालीबाट नेपाली कामदारहरू कोरिया पठाउँदै आएको छ । ‘जीटूजी भएकोले कामदारहरू ठगी र शोषणमा पर्ने सम्भावना न्यून हुन्छ,’ अर्को कारणबारे श्रमविज्ञ पौडेलले भनिन् । जीटूजी सम्झौताअन्तर्गत जान पाइने भएकोले कामदारमा विश्वास पनि कायम भएको ईपीएस शाखा निर्देशक सुवेदीको तर्क छ ।

३.कोरियाबाट सिकिने सीप
नेपाली कामदारहरू जाने गरेका मुलुकमध्ये जापानपछि कोरिया अर्को विकसित मुलुक भएको श्रमविज्ञ पौडेल बताउँछिन् । त्यहाँबाट नेपाली कामदारहरू कतिपय सीप पनि सिकेर आउँछन् । ‘फर्केर आउँदा उनीहरू दक्ष श्रमिक भएर आउँछन् । त्यो सीप स्वदेशमा र अरू देशमा काम लाग्न सक्छ,’ उनले भनिन् ।

तर कोरियाले अहिले शीप बिल्डिङमा पनि नेपाली कामदार लैजान खोजिरहेकोले त्यससम्बन्धी सीप चाहिँ नेपालको हकमा काम नलाग्ने अर्का श्रमविज्ञ गणेश गुरुङ बताउँछन् । ‘पानीजहाजको क्षेत्रमा हासिल गरेको अनुभव नेपालमै चाहिँ काम लाग्ने म देख्दिनँ,’ उनले भने ।

तपाईको प्रतिक्रिया