काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी विजयी भएको घोषणासँगै विवाद भएको छ । अध्यक्षमा पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका हुन् ।
अनलाइन प्रणालीमा गडबड गरेर केसीले नतिजा आफ्नो पक्षमा पारेको अध्यक्षका अरु प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छन् । केसीले १ हजार ३७८, शर्माले १ हजार २८१ र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ । महासचिवमा बद्री पक्षकै गौरीराज जोशी निर्वाचित भएको घोषणा गरिएको छ ।
महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश व्यक्त भएको हो ।
मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताए । मतदातालाई सम्बोधन गर्दै प्रतिस्पर्धी श्रेष्ठले भने, ‘यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठको माग छ ।
अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ शून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको उनको भनाई छ ।
काठमाण्डौंस्थित होटल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन भएको हो । निर्वाचन समितिकाअनुसार संगठनको उपाध्यमा डा. हेम राज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा.विनोद श्रेष्ठ (१५६०) मतसहित निर्वाचित भएका छन् ।
महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भइन् भने सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरिन् । युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भए। सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरे ।
संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए । महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरेका छन् । उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रविन गुरुङ (२१५०) मतसहित विजयी भए ।
६ सचिव पदमा भिम केसी कमल (१६७३), डा. ज्ञानेन्द्र रेग्मी (१७८२), मनोज कुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारमणी पोखरेल (१६५१) र स्वतन्त्र प्रताप शाह (१६६६) विजयी भएका छन् ।
महिला सचिवमा टिक गुरुङ, राधिका (२३२०) विजयी भइन् । सोही पदमा विमला सापकोटाले १५३९ मत प्राप्त गरिन् । संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी ठाकुर प्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरे ।
सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना (२०१५), अभिमन्यू बस्नेत २०८१) र तिलक प्रसाद गैरे (२२३२) मत प्राप्त गरेर विजयी हासिल गरे । महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन् । उनीकी प्रतिद्धन्द्धी तृष्णा शर्माले १५२२ मत प्राप्त गरिन् ।
अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन् । सोही पदमा देविका खत्री गुरुङले १५२४ मत ल्याइन् । यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भए । सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरे ।