समाचार सुन्नुहोस् :
काठमाडौँ – हिन्दू महिलाहरूको महान् चाड हरितालिका तिजका अवसरमा पशुपतिमा भक्तजनका लागि चारवटा लाइनबाट दर्शनको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार कोटेश्वर–तिनकुने–सिनामंगल क्षेत्रबाट आउने भक्तजनलाई तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी लाइनको व्यवस्था छ । यो बाटोबाट आउने भक्तजनका लागि जुत्ता–चप्पल आर्यघाट जाने बागमती नदीमाथिका दुई पुल पार गरेपछिको मध्यक्षेत्रमा राख्न सकिनेछ । यो पहिलो लाइन हो ।
मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी दोस्रो लाइनको व्यवस्था गरिएको छ । यो क्षेत्रबाट प्रवेश गर्ने भक्तजनका जुत्ता–चप्पल शंकराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने व्यवस्था छ । तेस्रो लाइन गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट सुरु हुने व्यवस्था छ । यो क्षेत्रबाट प्रवेश गर्ने भक्तजनका जुत्ता–चप्पल बज्रघरअघिको क्षेत्रमा राखिने व्यवस्था गरिएको छ । चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै अगाडि बढ्नेछ । यो क्षेत्रबाट पशुपति प्रवेश गर्ने भक्तजनले जुत्ता–चप्पल गुरु मन्दिरअघिको खुला भागमा राख्न सक्नेछन् ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । ‘चारवटै सुरक्षा निकायले सुरक्षा दिनेछन् । ट्राफिक व्यवस्थापनका लागि ठूला गाडी सिनामंगलबाटै डाइभर्सन हुनेछन् । निजी गाडी र साना सार्वजनिक गाडी भने चल्नेछन् । भक्तजनको भिड हेरेर गौशाला, एयरपोर्ट, सिनामंगल क्षेत्रमा एकतर्फीसमेत हुन सक्नेछन्,’ अधिकारीले भने ।