समाचार सुन्नुहोस् :
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको विरोध गर्नुभएको छ । उहाँले यादवमाथि सनककाे भरमा साङ्घातिक आक्रमण भएको भन्दै थामथुम पार्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
आज बिहीवार प्रतिनिधिसभा बैठककाे आकस्मिक समयमा महामन्त्री थापाले त्याे घटनाको सबै पक्षको अनुसन्धान गर्न पनि सरकारसँग माग गर्नुभयो । उहाँले के काठमाण्डाैमा एक्लैले हिँड्न नमिल्ने अवस्था आएको हो भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्नसमेत गर्नुभयो । कोही जलाइदिन्छु भन्ने, कोहीले खुकुरी प्रहार गर्ने अवस्था भएकाले काठमाण्डाैमा आफूहरू एक्लै हिँड्नसक्ने अवस्था नहुँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीले धेरै बोल्ने तर परिणाममा आउने गरी काम भने नगरिरहेको महामन्त्री थापाको गुनासो थियो । उहाँले नेपाली समाजमा हिंसात्मक घटनालाई पनि थामथुम पार्ने प्रयास गरिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसका सहमहामन्त्री, संविधानसभा सदस्य महेन्द्र यादवमाथि हिजो दिउँसाे काठमाण्डाैमा साङ्घातिक आक्रमण भएको छ । यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ । याे घटना कसरी भयो, किन भयो ? यसका सबै पक्षहरूको बारेमा राम्रोसँग अनुसन्धान होस् । म गृहमन्त्रीलाई सोध्न पनि चाहन्छु– के हामीले काठमाण्डाैमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छन्, कोही यस्तो गर्छन् । हामी एक्लै हिँड्न हुने हो कि होइन ? त्यसैले यो घटनालाई सामान्य घटनाको रूपमा लिनु हुन्न । अराजकताले नेपाली समाजलाई गाँँज्न खोज्दैछ ।’
महामन्त्री थापाले पाँच वर्षीया एक बालिकाको काठमाण्डाैकाे कान्ति बाल अस्पतालमा उपचार नपाएर ज्यान गएको भन्दै त्याे घटनाको छानबिन गरी तत्काल संसद्लाई जानकारी गराउन पनि सरकारलाई सचेत गराउनुभयो ।