हाम्रा कतिपय सामाजिक मूल्य र मान्यताका कारण पनि भ्रष्टाचारका लागि मलजल पुग्न गएको देखिन्छ । आफ्ना सन्तानलाई सुखमा हुर्काउने, राम्रो शिक्षादीक्षाको ब्यवस्था गर्ने, उनीहरुका लागि पर्याप्त पुग्ने सम्पत्तिको जोहो गरिदिने, आम्दानीको आकार जस्तोसुकै होस् देखासिकी र आडम्बरी शैली अवलम्बन गर्ने जस्ता हाम्रा सामाजिक मूल्य, मान्यता र परम्पराका कारण नेपालमा भ्रष्टाचार निको नहुने रोगजस्तै भएको छ । जुनसुकै सरकार आएपनि भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने, देशलाई समृद्धिको बाटोमा लैजाने जस्ता आकर्षक नारा सुन्न थालिएको पनि तिसौं वर्ष भईसक्यो । तर सबैभन्दा मौलाएको र देशलाई उभो लाग्न नदिएको क्यान्सर जस्तै सबैभन्दा ठूलो रोग भनेको भ्रष्टाचार नै हो भन्ने कुरो दूधे बालकदेखि स्वघोषित बडे बडे राजनेतालाई पनि थाहा छ । प्रश्न उठ्छ, यसको जरोकिलो पत्ता लगाएर निमिट्यान्न हुने गरी समस्या हल गर्न कसले रोकेको छ ? राज्यसत्ता, बागडोर सबै आफ्नै हातमा छ, नियम कानून बनाउने, संशोधन गर्ने ठाउँमा उनीहरु नै छन् तर किन नेपालमा झन झन यो समस्या विकराल बन्दै गईरहेको छ ? नागरिक तहबाटै अब यसको निदान खोजिनुपर्दछ ।
विधि र सिद्धान्तमा जे जे लेखिएको भएता पनि खर्चिलो निर्वाचन प्रणाली, घुसखोरी र सामन्ती मानसिकता बोकेको कर्मचारीतन्त्र, त्यसैको ‘हो मा हो’ मिलाउने जनप्रतिनिधि, नजराना टक्र्याएर मात्र काम लगाउने बानी परेका सेवाग्राही जस्ता विद्यमान विसंगतिलाई चिर्दै जानुपर्दछ । नागरिक तहमा चेतनास्तरलाई अभिबृद्धि गर्दै हरेकलाई जिम्मेवार बनाउँदै लैजाने हो भने आफ्ना जनप्रतिनिधी र राष्ट्रसेवकको खबरदारी उनीहरु आफैले गर्दछन् ।
हरेक स्कुल-कलेजका विद्यार्थीहरुलाई भ्रष्टाचार बिरोधी अभियानमा सरिक बनाउँदै उनीहरुलाई आफ्ना अभिभावक र परिवारका सदस्यबाट त्यस्तो अनैतिक काम भए-नभएको, परिवारमा अनावश्यक तडकभडक र खर्चालु गतिविधि हुने गरे-नगरेको, घरमा शंकास्पद मानिसहरुको बाक्लो आवत-जावत या संवाद हुने गरे-नगरेको निगरानी गर्न लगाउन सकिन्छ । यसका लागि क्रमशः पाठ्यपुस्तकको नै ब्यवस्था गरी भ्रष्टाचारप्रति घृणाभाव पैदा गर्ने पुस्ता तैयार गर्दै जानुपर्दछ । साथै हरेक आमाबाबुले आफ्ना सन्तानलाई सम्पत्ति हैन राम्रो सँस्कार सिकाउनुपर्दछ । राम्रो संस्कार दिन सक्यौं भने सम्पत्ति त भोलि आफैले पनि कमाउन सक्छन् । तर सहि समयमा राम्रो सँस्कार नै सिकाएनौ भने जतिनै सम्पत्ति कमाएर दिए पनि भोलि उसको हालत के हुन्छ भन्न सकिदैन ।
आदिम कालमा पनि भ्रष्टाचार गर्नु भनेको महापाप हो भन्ने जनविश्वास थियो । ईश्वर सर्बव्यापी भएकोले कोठाभित्र गरेका गैरकानूनी लेनदेनमा पनि ईश्वर साक्षी हुन्छ र यो कुकर्म समाजमा लुक्न सक्दैन भन्ने जनविश्वासले निकै काम गरेको थियो भन्ने दृष्टान्त धार्मिक ग्रन्थहरुमा पढ्न पाईन्छ । पृथ्वीनारायण शाहको दिव्य उपदेशमा पनि घुस लिने र दिने दुबै अपराधी हुन्, त्यस बापत सजायँमा यस्ताको ज्यानै लिए पनि पाप लाग्दैन भनिएको छ । तर हामीकहाँ देशकै सर्बोच्च ओहोदामा बिराजमान जिम्मेवार ब्यक्तिहरु हाकाहाकी भ्रष्टाचारमा लिप्त भएको पछिल्ला घिनलाग्दा घटनाहरुले हरेक सचेत नागरिकलाई एकचोटी निकै घोत्लेर सोच्न बाध्य बनाएको छ । नीतिगत भ्रष्टाचार, संस्थागत भ्रष्टाचार, सेटिङमा भ्रष्टाचार, विमानस्थलमा भ्रष्टाचार, मालपोतमा भ्रष्टाचार, मन्त्रालयका मन्त्रीबाट भ्रष्टाचार, सचिवबाट भ्रष्टाचार, हाकिमबाट भ्रष्टाचार, पिउनबाट भ्रष्टाचार, प्रहरी, सेना, वकिलबाट भ्रष्टाचार, ठेक्कामा भ्रष्टाचार हुँदै परिवारका सदस्यहरु श्रीमती, छोरा, स्वकिय सचिव, सवारी चालक भ्रष्टाचारमा सरिक बनाई कमाउ धन्दामा लागेपछि देश उभो लाग्ने कुरै भएन । यो भन्दा घिनलाग्दो कुरो अरु के हुन सक्छ ?
तसर्थ आफ्ना सन्तानलाई सम्पत्ति कमाएर थुपार्नुको सट्टा राम्रो सँस्कार सिकाएर राष्ट्र र समाजप्रति जिम्मेवार एवं असल नागरिक बनाउन सक्यौं भने हिजो उत्पादित आजका जन्मजाती भ्रष्टाचारीहरुलाई ठेगान लगाउँदै रछ्यानमा मिल्काउनुका साथै नयाँ भ्रष्टाचारी उत्पादन हुने कारखाना नै उनीहरुले सँधैका लागि बन्द गराईदिने हैसियत राख्नेछन् । पटक-पटक राज्यको बागडोर सम्हालेका, देश र जनताका लागि भन्दै आधा शताब्दी लामो राजनीति गरेका, जेल-नेल भोगेका, त्यसैको ब्याजको पनि स्याज खाँदै दशकौंदेखि लाभको पदमा हालीमुहाली गरेका, काँसजस्तै सेताम्मे केश फुलाएका आजको नेता पुस्ताबाट नेपालमा भ्रष्टाचारको अन्त्य हुन्छ भनेर आशा गर्नु र दूधको साक्षी बिरालो राख्नु उस्तै हो भन्दा फरक नपर्ला । त्यसकारण सन्तानलाई सँस्कार सिकाऔं सम्पत्ति हैन, भ्रष्टाचारको अन्त्य बरु उनीहरुबाट संभव हुन सक्छ।***