समाचार सुन्नुहोस् :
काठमाडौँ – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि आकर्षक विज्ञापन बनाएर सामाजिक सञ्जालमा गरिने प्रचार सत्य नभएको बताएको छ । दक्षिण अफ्रिका, अमेरिका, युरोपलगायतका मुलुकमा रोजगारीका लागि पठाउने भनी सामाजिक सञ्जालमा सम्प्रेषित मिथ्या र भ्रमपूर्ण विज्ञापनप्रति विश्वास नगर्न विभागले सबैलाई आग्रहसमेत गरेको छ । दक्षिण अफ्रिकामा आकर्षक तलब र सेवासुविधासहित राम्रो काममा लगाइदिने प्रलोभन देखाएर लाखौं ठगी भएको समाचार बाहिरिएपछि विभागले त्यसप्रति चासो देखाउँदै सञ्जालमा आएका वि ज्ञापनको पछाडि नलाग्न भनेको हो ।
विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगष्ट २०२२ मा प्रकाशित निर्णयमा विशेष ज्ञान, सीप आवश्यक पर्ने १४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारीमा लिने कानुनी व्यवस्था छ ।
त्यस्ता पदहरुमा वैदेशिक रोजगारीमा दक्षिण अफ्रिका जाँदा नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जान मिल्ने उनको भनाइ छ । त्यस्तै, उनले भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा भ्रमणका लागि मात्र भएको पनि स्पष्ट पारेका छन् ।
भिजिट भिसाका आधारमा रोजगारीमा संलग्न हुन नपाइने र त्यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई सम्बन्धित दमुलुकका सरकारी निकायले पक्राउगरी कानुनबमोजिम दण्ड, जरिवाना र थुनामा राखेर देश निकाला गर्ने प्रावधान रहेकोतर्फ पनि सूचना अधिकारी सुवेदीले सतर्क गराएका छन् ।
जुनसुकै मुलुक जानका लागि सम्बन्धित देशको भिसा आवश्यक पर्ने र त्यो सोचेजति सजिलो नभएको बताउँदै उनले भने,‘भिसासम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग या ती मुलुक हेर्ने विदेशस्थित नेपाली नियोगहरुमा सम्पर्क गरी आधिकारिक जानकारी लिन आग्रह गर्दछौं ।’