काठमाडौं- एसीसी प्रिमियर कपको फाइनल खेलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच महत्वपूर्ण खेल हुँदैछ ।निकै महत्वपूर्ण मानिएको यो खेलमा नेपाल र चिरपरिचित प्रतिद्वन्द्वी युएई पुनःएकचोटी आमने–सामने हुँदैछन् ।सोमवार कीर्तिपुर क्रिकेट मैदानमा नेपाल र युएई बीचको खेल बिहान नौ बजेबाट सुरु हुनेछ ।आजको विजेता टोली एसिया कपमा छनोट हुने भएकाले पनि यो खेललाई निकै महत्वपूर्ण रुपमा लिईएको छ ।
नेपाल आजको खेल जसरी पनि जित्ने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ भने युएई पनि कुनै हालतमा खेल जित्न चाहन्छ । डेढ महिना अगाडि सम्पन्न विश्वकप लीग–२ अन्तर्गतको खेलमा नेपाल युएई संग पाराजित भएको थियो । एसिया कपको छनौटमा नेपाल यो अवसर गुमाउन चाँहदैन ।शनिवार कुवेतसंग सेमिफाइनल खेलेको नेपाल टीयू क्रिकेट मैदानमा भएको खेलमा वर्षाको कारण बाधा पुगेपछि समूह ए को विजेताका हिसाबले नेपाल फाइनल प्रवेश गरेको थियो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि ५० ओभरको खेललाई ४२ ओभरमा छोट्याइएको थियो ।
नेपालले ४२ ओभरमा दिएको २८१ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत ८।३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएर खेलिरहँदा पानी परेर पुन खेल रोकिदा नेपालले फाइनलको प्रवेश गरेको थियो ।त्यस्तै, शनिवार नै मुलपानीमा भएको ओमान र युएई बीचको प्रतिस्पर्धात्मक खेलमा युएईले डीएलएस मेथड अनुसार २ रनले बिजयी हुँदै फाइनल प्रवेश गरेको थियो । त्यसपछि नेपालसंग युएईको भेट आजका लागि पक्का भयो ।
तर, प्रतिकूल मौसमका कारण आजको महत्वपूर्ण खेलमा पनि वर्षा बाधक बन्ने देखिएको छ । यदि पानी परेर खेल रोकिए नियमानुसार सुपर ओभरको खेल हुनेछ । विजेता टोलीले भारत र पाकिस्तानसँग एसिया कप खेल्ने सुनौलो अवसर प्राप्त गर्नेछ । वर्षा बाधक नबन्ने हो भने आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण र प्रतिस्पर्धात्मक हुने देखिन्छ ।