काठमाडौं – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार उनलाई प्रहरी हिरासतमा राखिएको छ । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् ।उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए । कार चढ्नुअघि उनले सञ्चारकर्मीहरूतिर फर्केर क्यामरातर्फ हेर्दै हात हल्लाएका थिए ।उनको गाडी केही मिनेटमै अदालत पुग्यो । ‘निकै अवास्तविक लाग्छ – वाउ, उनीहरूले मलाई पक्राउ गर्नेछन्,’ ट्रम्प टावरबाट गाडी चढेर म्यान्ह्याटन क्रिमिनल कोर्टहाउस जाँदै गर्दा उनले आफ्नो सामाजिक सञ्जालमा लेखे ।अदालतमा प्रवेश गर्दा उनी शान्त र गम्भीर मुद्रामा थिए। बेलाबेलामा उनले बाहिर जम्मा भएको भिडतिर हेरेर हात हल्लाएका थिए । अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढ्यो ।पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएन । अदालतभित्र उनी आफ्ना वकिलहरूको टोलीसँगै न्यायाधीशका अगाडि बसे। त्यसपछि उनले आफ्नो दलिल पेस गरे । बीबीसीबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार