समाचार सुन्नुहोस् :
काठमाडौं – आम जनता पार्टी (आजपा) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) बीच शुक्रबार पार्टी एकीकरण भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो ।एकतापछि पार्टीको नाम आम जनता पार्टी नै रहेको छ । पार्टीको अध्यक्ष एकतापछि पनि प्रभु साह नै रहेका छन् । पार्टीको झण्डा आजपाले प्रयोग गर्दै आएको विश्व कम्युनिष्ट आन्दोलनको साझा प्रतिकको रुपमा रहेको रातो आयात पृष्ठभूमि भित्रको हसिया हथौडा अंकित झण्डा रहनेछ ।
पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेलिनवाद, माओवाद (मालेमावाद) हुनेछ । पार्टीको सिद्धान्त नीति र कार्यक्रमको निर्माण तथा सबै तहका कमिटी र सदस्यहरुको सञ्चालन जनवादी केन्द्रीयताको संगाठनात्मक सिद्धान्तको आधारमा हुनेछ ।पार्टी एकता पछि नेकपा (माओवादी समाजवादी)बाट वरिष्ठ नेता तिलक थापा आजपाको उपाध्यक्ष र अरुण घिसिङ उपमहासचिव भएका छन् । अन्य नेताहरुलाई केन्द्रीय, प्रदेश, जिल्ला, पालिका स्तरको कमिटीमा राख्ने सहमती भएको छ ।
एकता घोषणा कार्यक्रममा आजपाका अध्यक्ष साहले मुलुक अप्ठेरो अवस्थामा पुगेकाले विभिन्न शक्तिहरू एकीकृत हुनुपरेको बताए । अर्थतन्त्रको भ्रष्ट नीतिका कारण मुलुकको अर्थतन्त्र धरासयी बनेको भन्दै उनले यसमा नीति निर्माण तहमा पुगेका व्यक्तिहरू गम्भीर हुनुपर्ने बताए ।अहिले नेताहरू ‘कुर्सीको व्यापारी बनेका’ले जनताहरू निराश हुनुपरेको उनको भनाइ छ । साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि केही गरौँ भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताए ।
अध्यक्ष साहले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डको कार्यकालमा त्यसमा सुधार हुने र विकास तथा निर्माणको कामले गति लिने विश्वाससमेत व्यक्त गरे । उनले जनताले बैंकबाट ऋण लिन नपाउने अवस्थाका अन्त्य गर्न सरकार गम्भीर हुने आशा आफूले गरेको पनि बताए।अध्यक्ष साहले भने, ‘अहिले प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहनुभएको छ । हामीले आशा राखौं–उहाँको कार्यकालमा यो चुनौतीहरुमा सुधार होस् । यो गतिहरुमा नयाँ रफ्तार समातोस् भन्ने विश्वास हामी प्रकट गर्न चाहन्छौँ ।’
अध्यक्ष साहले कृषि पेसालाई सम्मानित बनाउन, बेरोजगारी समस्या समाधान गर्न र मुलुकको राष्ट्रिय स्वाधिनतालाई जोगाउन पनि आफूहरुले पार्टी एकता गर्नु परेको पटकपटक दोहोर्याए ।क्रान्तिकारीहरु एकतावद्ध भए मात्रै मुलुकमा जनताको आवश्यकता अनुसारको काम गर्न सकिने अवस्था आउने भएकाले आफूहरुले पार्टी एकताको कामलाई पनि सुरु गरेको उनको भनाइ थियो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै तिलक थापाले आजपासंग आफ्नो पार्टीको सिद्धान्त, विचार तथा एजेण्डा मिलेकाले देशको आर्थिक समृद्धिका लागि पार्टी एकता गर्नुपरेको बताए ।