समाचार सुन्नुहोस् :
काठमाडौँ – वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ। रेडियो नेपाल, इमेज एफएममा काम गरेकी ८६ वर्षीय ताम्राकारको निमोनियाँको उपचारका सिलसिलामा बिहीबार राति निधन भएको हो। ६ वर्ष अगाडि क्यान्सरसँग जितेकी उनी केही दिनदेखि अस्वस्थ भएर अस्पतालमा उपचाररत थिइन्।
बनेपामा जन्मिएकी ताम्राकारले लामो समय रेडियो नेपालमा काम गरेकी थिइन्। नेपाल एयरलाइन्सको जागिर छाडेर उनी २०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी थिइन्।एयरलाइन्समा मासिक १७५ रूपैयाँ तलब भए पनि उनी १२५ रूपैयाँ तलबमा काम गर्न रेडियो नेपाल आएकी थिइन्। उनले रेडियो पत्रकारितामा जर्मनमा डिप्लोमा गरेकी थिइन्।
२०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचक रहेकी उनले अन्य कार्यक्रमसमेत सञ्चालन गर्थिन्। विभिन्न राष्ट्रिय-अन्तराष्ट्रिय पुरस्कार र सम्मान प्राप्त ताम्राकार पछिल्लो समय इमेज एफएममा उज्यालो नामको कार्यक्रम सञ्चालन गर्दै आएकी थिइन्। उनको निधनमा दुख व्यक्त गर्दै एमाले अध्यक्ष केपी ओली र काँग्रेस उपसभापति पूर्ण बहादुर खड्काले ताम्राकारको निधनमा दुख व्यक्त गरे।
‘नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम- कृष्णा ताम्राकार। उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो। उहाँको निधनको खबरले अत्यन्त दुःखी छु,’ ओलीले भनेका छन्। ‘विशेष गरी समाचार वाचनमा वर्षौँदेखि सुनिँदै आएको कर्णप्रिय सशक्त आवाज- यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्। उहाँको निधनले स्तब्ध बनायो। भावपूर्ण श्रद्धाञ्जली ’ खड्काले ट्विट गरेका छन्।