काठमाडौं – अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले घरजग्गालाई छिटो नाफा कमाउने वस्तु बनाउँदा अर्थतन्त्रमा विकृति बढेको बताएका छन् । घरजग्गालाई छिटो नाफा कमाइने वस्तुको रुपमा लिँदा सबै जना जग्गा दलालजस्तै बनेको उनको टिप्पणी छ ।
इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजको ४४औं वार्षिकोत्सव समारोहमा बोल्दै डा. वाग्लेले विदेशबाट भित्रिने रेमिट्यान्सको रकम उपभोग र घरजग्गा क्षेत्रमा जाँदा अर्थतन्त्रमा समस्या निम्तिएको बताए । विदेशमा श्रम गरेर पठाएको पैसा सही ठाउँमा प्रयोग गर्नेतर्फ सोँच्नुपर्ने बेला आएको उनको भनाई थियो ।
उनले थपे, ‘विदेशमा रोजगारी गर्न जानेको संख्या दैनिक बढ्दै जाँदा रेमिट्यान्सको विकल्प खोज्ने काम भएन, त्यो रकम सही ठाउँमा प्रयोग नहुँदा समस्या बढ्दै गयो ।’ दैनिक पाँच सय विदेश जानेको संख्या बढेर अहिले दुई हजार पुगिसकेको उनको भनाई छ ।
यो बिचमा घरजग्गामा अस्वभाविक लगानी ओइरिँदा धेरैले फाइदा लिइसकेको टिप्पणी गर्दै डा. वाग्ले घरजग्गामा भइरहेको लगानी नियन्त्रण गर्नुपर्ने सुझाव दिए । तर, घरजग्गामा लगानी नियन्त्रण गर्दा सुरक्षित योजना भने ल्याउनुपर्ने उनको तर्क छ ।