काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु सरकारको प्राथमिक काम रहेको बताएकी छन् । धादिङको गल्छीमा आयोजित सामुदायिक रेडियोहरुको दुई दिने राष्ट्रिय परामर्श सम्मेलन उद्घाटन गर्दै उनले चालु संसद अधिवेशनबाटै संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभार टुंगोमा पुर्याउने बताएकी हुन् ।
उनले अहिले विस्तृत शान्ति सम्झौता विथोल्ने षड्यन्त्र भइरहेको बताएकी छन् । अघिल्लो संसदमा विधेयक पेश भए पनि टुंगोमा पुग्न नसकेको उल्लेख गर्दै उनले यस पटक त्यसका लागि प्रमुख दलहरूले लिखित प्रतिबद्धता नै जनाइसकेकाले संक्रमणकालीन न्यायको काम टुंगोमा पुग्ने विश्वास व्यक्त गरिन् । यसका लागि मिडियाको पनि सकारात्मक भूमिकाको अपेक्षा सरकारले गरेको मन्त्री शर्माको भनाइ छ ।
शान्ति प्रक्रिया टुंगोमा नपुग्दा विभिन्न चलखेल सुरू भएको उल्लेख गर्दै उनले द्वन्द्वकालीन मुद्दा आम मुद्दाको रुपमा भन्दा शान्ति सम्झौता र संक्रमणकालीन न्यायभित्र रहेर टुंग्यानु पर्ने बताइन् ।
मन्त्री शर्माले सरकार छिमेकी मुलुकसहित सबै मित्र राष्ट्रहरूसितको सन्तुलित परराष्ट्रनीतिमा प्रतिबद्ध रहेको बताइन् । कतिपय सन्दर्भमा जिम्मेवार नेताहरूले नै मुलुकको हितबिपरित अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमले यस्ता सवालमा ध्यान दिनुपर्ने र राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।