भिडियो :
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)की सांसद एवं स्वास्थ्य मन्त्री निर्मला लिम्बू प्रदेश १ को प्रदेशसभा बैठकमा रोष्टममै भक्कानिएकी छन् । प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा छलफलमा भाग लिँदै पहिचानको मुद्दालाई दबाइएको भन्दै उनी भक्कानिएकी हुन् । बोल्दाबोल्दै सांसद लिम्बू भक्कानिएपछि बैठकमा सन्नाटा छाएको थियो ।
संसद बैठकमा बोल्दै उनले भनिन्, ‘बहुमतको दम्भका अघि म एक्लो सांसदलाई सती पठाएझैं भयो । पहिचानको आवाजको हत्या भयो ।’ बोल्दाबोल्दै उनको गला अवरूद्ध भएको थियो । उनले लिम्बूवान जाती नभएको समेत बताउँदै प्रदेशको नाम किरात लिम्बूवान राख्न सबैलाई न्याय हुने बताइन् ।
गला अवरुद्ध हुँदै उनले भनिन्, ‘पहिचान विरोधीहरूको बहुमत भएको पीडाले म द्रवित बनेकी छु । पहिचान खोलानालाले मागेको थिएन । ती खोलानाला जोगाउने काम नागरिकले गरे, पहिचान तिनैले मागे । तर, जातीय नाममा न्यायको आवाज दबाइयो ।’ उनी प्रदेश १ को प्रदेशसभामा जसपाको एक मात्र सांसद हुन् ।