काठमाडौं – हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा कुनै बेला आकर्षणको केन्द्र थिए, माग्ने बुढा र धुर्मुस । यी कलाकारलाई स्थापित गर्ने सिरियल नै बन्यो मेरी बास्सै । तर कालान्तरमा उनीहरू यसबाट ओझेल परे । धुर्मुस समाज सेवामा केन्द्रित भए भने माग्ने बुढा फिल्ममा । यिनैमध्येका एक केदार घिमिरे उर्फ माग्ने बुढा यो टेलिश्रृंखलामा पुनरागमन हुने भएका छन् । मिडिया हबका अनुसार, मंगलबार प्रसारण हुने मेरी बास्सैको नयाँ भागमा उनी देखिनेछन् ।
आठ वर्षपछि अभिनेता घिमिरे ‘मेरी बास्सै’मा देखिने भएका हुन् । दर्शकले एक एपिसोडमा भएपनि माग्ने बुढाको चर्चित पात्रलाई हेर्न पाउनेछन् । यो श्रृंखलामा उनी अभिनेत्री बेनिशा हमालसँगै देखिने जनाइएको छ । शुक्रबारदेखि हलमा प्रदर्शन हुने तयारीमा रहेको ‘छक्कापञ्जा ४’को प्रवद्र्धनका लागि माग्ने बुढाले ‘मेरी बास्सै’मा अभिनय गरेका हुन् ।
घिमिरेले परिचय दिएको टेलिफिल्ममा पुनरागमन गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।