काठमाडौँ – गत सोमबार (१ फागुन) गोंगबु बसपार्क क्षेत्रमा यातायात मजदुरको आन्दोलनको मौका छोपी चोरी र लुटपाट गर्नेहरूमध्ये ५० जना पक्राउ परेका छन् । पक्राउ परेका ४६ जनाविरुद्ध प्रहरीले ‘आपराधिक उपद्रव’ र ‘चोरी तथा डाँका’ कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ भने बाँकी चार जनामाथि अनुसन्धान जारी रहेको जनाएको छ । तोडफोड तथा आगजनीमा संलग्न ३५ जनालाई बालाजु वृत्तमा र बसर्पाकस्थित ल्होत्से मलभित्र चोरी तथा डकैतीमा संलग्न १५ जनालाई महाराजगन्ज वृत्तमा राखिएको छ । ल्होत्से मलभित्र मोबाइल तथा अन्य सामान चोरी गर्नेलाई मुलुकी अपराध संहिता, ०७४ को परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ ।
त्यस्तै बस, एम्बुलेन्स, प्रहरी भ्यानलगायत तोडफोड र आगजनीमा संलग्नलाई सोही संहिताको परिच्छेद २६ ‘आपराधिक उपद्रव’ कसुरअन्तगर्तको मुद्दामा कारबाही हुने प्रहरीको भनाइ छ । यस कसुरमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । उनीहरूमाथि दुई प्रकारका कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले जानकारी दिए । उनका अनुसार तोडफोड तथा चोरीमा संलग्नको संख्या भने अझै यकिन भएको छैन । भिडियो फुटेज, पीडितहरूको उजुरी, सामाजिक सञ्जाललगायत माध्यमका आधारमा उनीहरू पक्राउ परेका हुन् ।