समाचार सुन्नुहोस् :
काठमाडौँ – खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् । काठमाडौंको नयाँ वानेश्वर बुद्धनगरस्थित निवासमा बुधवार राति ग्यास सिलिण्डर विस्फोट भएको थियो । विस्फोटमा भण्डारीकी आमा समेत घाइते भएकी छिन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राति नै कीर्तिपूरस्थित बर्न सेन्टरमा पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । भण्डारीको शरीरको केही भाग जलेको डाक्टरहरुले बताएका छन् । आमाको भने झण्डै ७० प्रतिशत शरीर जलेको छ ।
‘ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली काँग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षिया माताको किर्तिपुरको अस्पतालमा उपचार भइरहेकोे छ l अस्पतालबाट भर्खर फर्किएको छु l ममतामयी माता र आदरणीय चन्द्र´दाइ दुवैको सिघ्र स्वास्थलाभकालागि भगवानसँग प्रार्थना गर्दछु’ कांग्रेस महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन् ।
बुधवार मात्र भण्डारीले प्रतिनिधि सभाको विशेष समयमा माफीयाले देश समाप्त पार्न लागे भन्दै जनताको पक्षमा बोलेका थिए । भण्डारी गुल्मी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।