काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताएका छन् । उनले जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताए । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा शनिवार नेता डा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताए ।
उनले भने, “जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ ।” नेता कोइरालाले सो आश्रमको स्तरोन्नतिका लागि सरकार, दातृ निकाय र भातृ निकायमा पहल गर्ने आश्वासन दिए । श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रमको आयोजनामा जारी महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेका छन् ।