काठमाडौँ – महाशिवरात्रि नजिकिएपछि महोत्तरी जिल्लाको विभिन्न ठाउँमा रहेका शिवालयहरू सिँगारिन सुरु भएको छ। जिल्लामा प्राचीन, प्रसिद्ध तथा पुरातात्त्विक महत्व राख्ने जलेश्वरनाथ, टुटेश्वरनाथ, मङ्गलनाथ, सिद्धनाथसहितका शिवालयमा महाशिवरात्रिमा दर्शनार्थीको सहज दर्शनको व्यवस्थापनका साथसाथै मन्दिरहरूको रङरोगन सुरु भएको छ। जलेश्वरनाथ महादेव मन्दिरमा यसै सप्ताह गठन भएको महाशिवरात्रि मेला महोत्सवका अध्यक्ष रमनकुमार चौधरीले जलेश्वरनाथ महादेव मन्दिरको रङरोगन सुरु गरिसकिएको जानकारी गराउनुभयो। दर्शनार्थीलाई सहज दर्शनका लागि व्यवस्थापन गर्ने काम भइरहेको बताउनुभयो। उहाँले यो वर्ष लाइन लागेको बढीमा दुई घण्टामा दर्शन गराउने तयारी रहेको उल्लेख गर्नुभयो।
राजा जनकको राजधानी जनकपुरको दक्षिणीद्वारका रूपमा रहेको जलेश्वरनाथ स्वयं भगवान् रुद्रबाट स्थापना भएको पुराणहरूमा उल्लेख छ। पुराणहरूमा सीताको रक्षाकवचको रूपमा स्वयं महादेवले पहरेदारी दिने भएकाले जनकपुरको पूर्वोत्तर कुनामा कपिलेश्वरनाथ, उत्तरमा क्षिरेश्वरनाथ, दक्षिणपूर्वमा कल्याणेश्वर र पश्चिमदक्षिण कुनामा जलेश्वरनाथ महादेव प्रतिष्ठित भएको उल्लेख छ। यी महादेवको दर्शन गर्नाले चार देवस्थलको पुण्य मिल्ने विश्वास रहेकाले पनि यहाँ दर्शनार्थीको भीड लाग्ने गरेको छ। जलेश्वरनाथमा लागेको महाशिवरात्रि मेलालाई व्यवस्थित बनाउन जलेश्वरनाथ मेला समितिले निःशुल्क स्वास्थ्य शिविर, खानेपानी र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिदिन आग्रह गरेको छ। यसवर्ष महाशिवरात्रि पर्व फागुन ६ गते शनिबार परेको छ।
जिल्लाको सोनमा गाउँपालिकामा रहेको मङ्गलनाथ महादेव मन्दिरमा समेत शिवलिङ्ग छोपिने गरी गुफामा जल भरिएकोले त्यहाँ पनि दर्शनार्थीलाई सहज दर्शनका लागि व्यवस्थापन भइरहेको स्थानीय युवा धर्मेन्द्रकुमार यादवले जानकारी दिनुभयो। उहाँले महोत्तरीको पश्चिमवर्ती क्षेत्रमा ख्यातिप्राप्त यो महादेवको दर्शन गर्नाले पुण्यको प्राप्ति हुने जनविश्वासले दर्शनार्थीको भीड देखिने गरेको बताउनुभयो। बर्दिबास नगरपालिका–५ मा पर्ने टुटेश्वरनाथ महादेव आदिकालमा महात्माहरूले स्वप्न वर्णनबाट पत्ता लगाएको मान्यता छ। प्राचीन शिवलिङ्ग भएकाले पनि यो धार्मिक स्थलमा दर्शनार्थीको भीड हुने गरेको छ।