काठमाडौँ – बुधबार स्थगित भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको हो । बैठकमा गृह मन्त्रालय, राष्ट्रपति निर्वाचन, पार्टीका विभागमा नेताहरूको जिम्मेवारी तोक्नेलगायत विषयमा बैठकमा छलफल हुनेछ । यसअघि बुधबार बस्ने तय भएको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण स्थगित गरिएको थियो ।
त्यस्तै, समसामयिक राजनीतिक घटनाक्रममाथि पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । मंगलबार बसेको पदाधिकारी बैठकले नागरिकता विवादका कारण पदमुक्त रवि लामिछाने र उनको पार्टीलाई तत्काल गृह मन्त्रालय नदिने निर्णय गरेको थियो ।माओवादी केन्द्रको उक्त निर्णयपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढेको चर्चा हुन थालेको छ । यद्यपि प्रधानमन्त्री प्रचण्डले आफू गठबन्धन जोगाउन सक्दो प्रयास गरिरहेको बताउँदै आएका छन् ।