बेलायतका दुई प्रधानमन्त्री डिजरायली र ग्लेडस्टन व्यङ्ग्यवाण चलिरहन्थ्यो । उनीहरु पालैपालो प्रधानमन्त्री हुन्थे । टोरी पार्टीका नेता डिजरायली र लेवर पार्टीका नेता ग्लेडस्टोनको संवाद सुन्न तात्कालिन महारानी भिक्टोरिया पनि संसद आइरहन्थिन् । एकदिन कुनै पत्रकारले डिजरायलीलाई सोधेछ- ‘दुर्भाग्य र दुर्घटनामा के अन्तर छ ? -’ उनले बडो गम्भीर भएर जवाफ दिए- ‘यदि प्रधानमन्त्री ग्लेडस्टोन केही कारण टेम्स नदीमा खस्नुभयो भने त्यो एक दुर्घटना हुनेछ । यदि त्यही समय कुनै व्यक्तिले ज्यानको बाजी लगाएर उहाँलाई डुब्नबाट बचाउँछ भने त्यो दुर्भाग्य हुनेछ ।’ यो व्यङ्ग्य त्यसबेला इंगल्याण्डका पत्रपत्रिकामा छयापछयाप्ती प्रकाशित भएको थियो ।
२०१५ सालमा आफू प्रधानमन्त्री भएपछि बीपी कोइरालाले कम्युनिष्ट पृष्ठभूमिका पत्रकार मदनमणि दीक्षितलाई सरकारको आलोचना गर्ने सर्तमा महिनाको ६ सय दिएर ‘समीक्षा’ को प्रकाशन आरम्भ गराएका थिए । त्यतिमात्र होइन, सहज ढंगले दर्ता नगरिने त्यस परिस्थितिमा पत्रिका दर्ताको सम्पूर्ण प्रक्रिया पनि आफैले मिलाइदिएका थिए । पाका पत्रकार दीक्षितले आफ्नो आत्मवृत्तान्तमा पत्रिका प्रकाशनको औचित्य पुष्टि गर्दै भनेका छन् – ‘मुलुकको प्रधानमन्त्री, संसदीय प्रजातन्त्रको स्तम्भ र जहानियाँ शासनको अवशिष्ट रुढिवादी शक्तिका विरुद्ध कोइरालाका विचार अनि व्यवहारलाई समर्थन गरिनेछ ।’ अंकगणितमा १, १ जोड्दा २ हुन्छ । तर राजनीतिमा १, १ को योगफल प्रायः ११ हुन्छ । अघिल्लो पुस्ताका राजनीतिज्ञहरु यो सत्यसंग भलिभाँती जानकार थिए । त्यो समयमा पनि नेताहरुबीच राजनीतिक र सैद्धान्तिक असहमतिका थुप्रै खाडल थिए । तर राष्ट्रिय राजनीतिको स्वार्थमा त्यो विभेदले मौलाउने अवसर पाएन । लामखुट्टे भलै रगत चुस्न आएपनि उसले मानिसलाई सतर्क रहन छनक दिन्छ । यो उसको स्वधर्म हो । अहिले त राजनीति अपराधको सटर बन्यो । कमल थापाबाट राजेन्द्र लिङदेनले खोसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको जहाज गणतन्त्रको घाँस चर्न सरकारमा भित्रियो । हिन्दु राज्य, राजाको सक्रिय शासन ल्याउने उसको राजनीतिक कोर्स क्रिश्चियन समुदायका व्यक्तिलाई सांसद बनाएसंगै खरानी भएको छ । गणतन्त्रलाई धोका मान्ने त्यो पार्टी पाखण्ड बागमती प्रदेशमा यसरी समाप्त भयो कि त्यहाँका सभामुख राप्रका केन्द्रीय नेता भुवन पाठकले भ्याइदिए । राजनीति उभार ल्याएको मानिने राष्ट्रिय स्वतन्त्र पार्टी उम्दा सांसदहरु मन्त्री बनाई माग्न बिन्तीपत्र बोकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको परिक्रममा व्यस्त देखिए । पत्रकारिताबाट राजनीतिमा मेला झर्न पसेका रवि लामिछानेको राजनीतिक नायवी समेत ओलीले चलाएको देखियो । अब यसखाले ठिमाहा राजनीतिक चरित्रले तीन करोड जनताको व्यवस्थापन कसरी होला भन्ने प्रश्न उभिएको छ ।
इतिहासको अन्तरवस्तु हेर्दा २०१७ सालको कदम चाल्नुअघि राजा महेन्द्रले पनि आफ्नो सम्भावित कदमको लक्षण देखाएका थिए । यसको पूर्वाभ्यास स्वरुप बीपीका विश्वासपात्र मानिनेहरुलाई आफ्नो प्रवक्ता बनाइसकेका थिए । बीपीकै सहोदर भाइसरह घरमै हुर्किएका विश्वबन्धु थापा, गृहमन्त्री सुर्यप्रसाद उपाध्याय, श्रीभद्र शर्माजस्ता राजनीतिज्ञहरु तात्कालिन राजनीतिक परिदृश्यका दोहोरो नायक भइसकेका थिए । ‘कू’ हुने अघिल्लो दिन सुवर्ण शमशेर भारत जानुको पृष्ठभूमि पनि त्यसैको अर्को पहेली थियो । स्वयं राजा महेन्द्रले देश बनाउने भिजन आफूमा रहेको र त्यसका लागि दश वर्षको समय आफूलाई दिन बीपीसंग बारम्बार आग्रह गरेका थिए । राजनीतिक ‘कू’ हुनमा को कति जिम्मेवार थिए भन्दा पनि प्रतिकूल परिस्थितिलाई उनीहरु कसरी सम्हालिएर छताछुल्ल हुनबाट जोगाउँथे भन्ने विषयले वर्तमानमा ठूलो माने राख्छ । २०१७ सालको घटनापछि सुवर्ण शम्शेरले राजासंग सहकार्यको जाल मिल्काईरहे । राजालाई प्रजातान्त्रिक बनाउन त सकेनन्, तर प्रजातन्त्रको पक्षमा आफ्नो उपस्थितिलाई थोरै पनि खस्कन दिएनन् । ‘रक्सी खाने बाहुन’ भनेर चुनावमा आफ्नै जन्मथलो गोरखाबाट अस्वीकृत कृष्णप्रसाद भट्टर्राईले आफ्नै भूमिमा मर्ने तर प्रवास नजाने अड्डी कसेर सुराही रोजे, प्रवास रोजेनन् । जेलमा जाकिएका बीपीले भलै राजनीतिक उपलब्धि हासिल गर्न नसकेपनि साहित्यिक सिर्जनाको सगरमाथा उभ्याएर आफूलाई राजनीति र साहित्य दुवै क्षेत्रको महारथिमा स्थापित गरे । शासन सत्ता हातमा लिएका राजा महेन्द्रले बीपीको उचाईलाई सँधै सम्मान गरिरहे । आफूले बनाएका पञ्चायतका प्रधानमन्त्रीहरुसंग पनि उनले राजनीतिक असहमति भएपनि देशको सान, मान राख्न सक्षम भन्दै बीपीको बारम्बार बखान गर्ने गरेका थिए ।
शासन सत्ता हातमा लिएका महेन्द्रले पनि उत्तर र दक्षिणका दुई छिमेकीसंग हेपिनु नपर्ने अवस्था ल्याउन केही रणनीतिक चालबाजी रचेकै हुन् । त्यसको शुरुवात उनले पहाडेलाई तराईमा बसाइ झारेर गरे । यतिमात्र हैन, दरबारकै संरक्षण र लगानीमा केही रेडिकल कम्युनिष्टहरुलाई अप्रत्यक्ष उचालेर उनले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई ठीक लगाउने सूत्रको प्रतिपादन गरे । तर आफ्नै ढोके, हुक्के, चम्चे, बैठके र छातेहरुको असहयोगको शिकार बनेका तिनै राजाको अवसान रहस्यमय ढंगले भयो । पञ्चेका नाममा हुनु नहुनु, गर्नु नगर्नुका काम तमाम भए । बद्नामी राजाले खेप्नुपर्यो । राजनीतिमा भाषण कम, जवाफदेहिता ज्यादा हुनुपर्छ ।
राज्य एकीकरणका लागि विसे नगर्चीसंग एक रुपैयाँ चन्दा उठाउने राजा पृथ्वीनारायण शाहको इमान्दारी विरासत स्वयं राजा महाराजाहरुमा देखिएन । राजा पृथ्वीनारायण शाहले काठमाडौ जितेपछि आजभन्दा चार सय वर्षअघि नै यहाँको मनोविज्ञान पढेर आफ्नो दिव्योपदेशमा भनेका छन् – ‘यो तीन सहर भन्याकोचिस्व ढुंगो रहेछ । षेलषाल मात्रै ठूलो रहेछ । कुपको पानी षान्याछेउ बुधि पनि हुँदैन । सुरो पनि हुदैन । मेरो मनसुबा त दहचोकमा दरबार बनाउला र चारै दिसा थरघरको गुरु प्रोहित भैयाद भारदार मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउला र इ तिन सहरमा ता दरबारबाट स्वषसयललाई मात्र जाला भन्या यस्तो अविलाष थियो ।’ विदेशी व्यापारीलाई अचेट्न उनले गरेको आग्रह पनि कम रोचक छैन्- ‘उप्रान्त ११ देसका महाजनलाई गोडप्रसाहदेषी उभ आउन नदिनु, देसका महाजनहरु हाम्रा मुलुकमा आया भन्या दुनिञां कंगाल गरी छाड्दछन्।’
भोका नांगा जनतालाई एकसरो लुगा र एकपेट रोटी दिन असफल हाम्रा नेताहरु एकाविहानै टीभीमा रामदेवले दैनिक लाउने भुँडी पुराणमा बाल्कोनीको ग्राहक हुन्छन् । त्यसमाथि नेपाली नागरिक भएको भन्दा रासन कार्डसंग भेटघाट गर्न नपाएकोमा छट्पटिनेहरुको संख्या बढ्दो छ । हिन्दी बोल्ने देउता पूजा गर्नु परेपछि बाँकी लक्ष्मणरेखा किन कोर्नुपर्यो – भन्ने कुतर्क गर्नेदेखि राष्ट्रियताका नाममा भारतलाई गाली गर्न आयोजित कार्यक्रममा त्यहीँ बनेको धूप सल्काएपछि बल्ल उद्देश्य तुहिएको चाल पाउने कथित बुद्धिजीवीहरुको पनि यहाँ खाँचो छैन्। दलाई लामा भेट्न छाती फुलाएर भारत पुग्ने अनि तिनै लामाको सी ग्रेडका कार्यकर्तामाथि सुराकी गरेर हातमुखको जोहो गर्ने कपुतहरु पनि नेपाल आमाकै सन्तान भनेर छातीको आयतन बढाउँदै आएका छन् । पहिले पहिले ऋणले पोल्थ्यो तर अहिले ऋणले टुप्पीसम्म छोपिएकाहरु समाज सुधारक भएका छन् । करोडको ऋणीलाई अरब दिन धक नमान्ने, अरब खाएकालाई खरब र खरब पचाएकालाई देशै जिम्मा लगाउने पदचापमा देशका संयन्त्र अघि बढिरहेका छन् ।
नेपोलियन शासनमा आएपछि देशमा नेपोलियन कानून संहिता १८०२ लागू गरे । जसअनुसार केन्द्रीकरण नीति अपनाउँदै सरकारी सेवामा सवैलाई खुल्ला गरे । विदेशिएका नागरिक र नन जुरिइंग पुरोहितहरुप्रति कानून खुकुलो गरे । यो संगै उनीहरुले स्वदेश फर्कन पनि पाउनुका साथै आफ्नो सम्पति र माटोको स्वामित्व पाए । देशमा बाटो घाटो निर्माणलाई तीब्रता दिए । एकलौटी ठेक्कामा अनुचित फाइदा उठाउन नपाउने कानूनी व्यवस्था गरे । कुलीन वर्गका लागि कानूनले प्रत्याभूत गरेका सवै सुविधा निलम्बन गरे । उद्योग, व्यवसाय तथा व्यापारमा उन्नति गर्ने योजना बनाए । पेरिस विश्वविद्यालय खोली शिक्षामा विकास गर्न जोड दिए । सवैका निम्ति कानूनी समानता लागू गरे । जुन कानूनले पारिवारिक जीवनको महत्व र नागरिकको समान सिद्धान्तलाई स्वीकारेको थियो । उनले भनेका थिए – ‘मेरो गौरव नागरिक संहिता हो ।’
क्रान्तिबाटै आएका प्रचण्ड तेस्रोपटक अग्निपरीक्षामा छन् । यो उनका लागि ‘गर वा मर’ को अन्तिम मौका हो । जीसस क्राइष्टले क्रसमा टाँगिएपछि भनेका थिए – ‘पिता तिनलाई माफ गर किनकी उनीहरुलाई आफूले गरिरहेको कर्मका बारेमा थाहा छैन ।’ विख्यात अंग्रेजी साहित्यकार वाल्टर लेइगलाई राजनीतिक प्रतिशोध राखेर मृत्युदण्ड दिइयो । उनले आफ्नो टाउको ठेलामा तेर्स्यादिए । जल्लादले पूर्वतिर टाउको फर्काएर घुँडा टेक्न अर्हायो । वाल्टरले शान्त स्वरमा भने- ‘हृदय सही छ भने टाउको जता फर्काए पनि फरक पर्दैन ।’
आत्तिनु, मात्तिनु र पात्तिनुको घेराभित्र देश चल्दैन । रोमन कानूनमा स्वास्नी मानिसलाई भुत्ल्याउनु अपराध मानिन्छ । राती डकैत गर्नेलाई जोसुकैले मारेपनि अपराध ठहर्दैनथ्यो । कुनै न्यायाधीशले घुस लिएमा मृत्युदण्ड दिइन्थ्यो । कसैको घरमा आगो लगाई अपराध गरेमा उसलाई आगोमा नै हालेर सखाप पारिन्थ्यो । झूठो कुराको साक्षी बकेमा पहाडबाटै झारेर खसालिन्थ्यो । हाम्रा धार्मिक ग्रन्थकारहरु मनु, याज्ञवल्क्य, नारद, वृहस्पति र कात्यायनमाले जुन ग्रन्थहरु लेखे, त्यसमा धेरै शास्त्र पढेका, लोक व्यवहार बुझेका, नैतिक चरित्रले उच्च व्यक्तिहरुलाई न्यायाधीश बनाउनुपर्ने उल्लेख छ । न हाँस न बकुल्लाको नियतिमा चलेका हामीहरु छातीमा हात राखेर सोचौं देशप्रति को कति इमान्दार छौं ? ***