काठमाडौँ – इलामका प्रेम प्रसाद आचार्यद्वारा आत्मदाह र मृत्यु प्रकरणमा प्रहरीले व्यवसायी तथा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोसँग बयान लिएको छ । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले महतोसँग बयान लिएको हो । आचार्यले आत्मदाहअघिको आफ्नो फेसबुक स्ट्याटसमा महतोको नाम पनि लिएको र यस विषयमा यथार्थ जानकारीका लागि प्रहरीले बयान लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले महतोसँग मंगलबार बयान लिइएको पुष्टि गरे । आचार्यले उपेन्द्र महतो र डा. समता प्रसादले नेपालमा चलाएको नेपाल ग्रामोध्योग भन्ने कम्पनीलाई आफूले प्रकृति ब्राण्डमा घ्यु बनाएर दिएको उल्लेख गरेका थिए । तर, पछि भुक्तानी दिन अनेक बहानाबाजी गरेको उनले उल्लेख गरेका थिए ।