काठमाडौं – विशेष अदालत काठमाडौले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ । विशेषले पाठकलाई ३ वर्ष ३ महिना कैदको फैसला सुनाएको छ । भ्रष्टाचार निवारण ऐनअनुसार ३ वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप ३ महिना कैद गर्ने फैसला सुनाएको हो ।
त्यस्तै, नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई पनि विशेषले ३ वर्ष कैदको फैसला सुनाएको छ । विशेषले तत्कालीन आयुक्त पाठक र न्यौपानेलाई जनही ३९ लाख जरिवाना गर्ने फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । आयुक्त पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए ।
उक्त प्रकरणबाट बच्न उनले आयुक्त पदवाट राजीनामा दिएका थिए । राजीनामा दिएपछि अख्तियारले नै उनीमाथि अनुसन्धान गरी घुस रिसवतमा मुद्दा दायर गरेको थियो ।दुवै जनाविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम जरिवाना र कैद सजाय माग अभियोगपत्रमा गरिएको थियो ।आयोगले दायर गरेको मुद्दामा पाठकलाई जरिवाना र कैद सजायका साथै उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा बहाल रहेकै अवस्थामा कसुर गरेको हुँदा थप सजायको समेत माग गरिएको छ ।