काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी र संसदीय दलको बैठक लम्बिएको हुनाले प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ । ‘नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । उहाँहरूले ज्येष्ठ सदस्यलाई समय चाहियाे भन्नुभएको छ । त्यही भएर १ बजेका लागि सार्ने निर्णय भएको छ,’ प्रतिनिधिसभाका सचिव गाेपालनाथ याेगीले भने । नेपाली कांग्रेसले अहिलेको सरकारलाई विश्वासको मत दिने की नदिने भन्ने बारेमा छलफल भइरहेको छ।
सोमवार साँझ प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापतिसँगको भेटमा आफ्नो सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए। उनको आग्रहलाई सकारात्मक रूपमा देउवाले लिएको सञ्चार माध्यमहरूमार्फत बाहिर आएको थियो। उक्त सन्देशले राजनीतिमा नयाँ तरङ्ग ल्याएको थियो। कांग्रेसको पदाधिकारी बैठक र संसदीय दलको बैठकले निर्णय गर्ने छ । उक्त निर्णयमा अहिले छलफल जारी रहेको छ। नेपाली कांग्रेस पदाधिकारी र संसदीय दलको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सर्न गएको बताइएको छ ।