काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै भूभागहरूमा बाक्लो हुस्सु कुहिरो लागिरहेको छ।
आगामी २४ घण्टाका लागि मौसम पूर्वानुमान महाशाखाले विशेष अनुरोध पनि गरेको छ । ‘प्रदेश १ को हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका धेरै भूभागहरूमा बाक्लो हुस्सु कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै, आज दिउसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ प्रदेश १ को हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातिमा भने प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।