काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक मंगलबार पनि बस्दैछ छ । बिहान ११ बजे बस्ने बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहने प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
सोमबारको बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, सरकारमा पार्टीको सहभागिता लगायतका विषयमा केन्द्रित भएर ३० नेताले धारणा राखेको उनको भनाइ छ । वामपन्थी शक्तिसँग एकताका विषयमा प्राथमिकता दिनुपर्नेमा अधिकांश नेताको साझा धारणा देखिएको छ ।
बैठकको प्रारम्भमा अध्यक्ष माधव नेपालले पछिल्लो पटक नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुको कारण र सो गठबन्धन कायम हुन नसकेपछि विकास भएको राजनीतिक घटनाक्रमका बारे जानकारी गराउँदै प्रतिगमन र पुनरुत्थानवादीको जगमा उभिएको वर्तमान सरकारमा पार्टी सहभागी हुन नहुने प्रस्ताव राखे । उनले पार्टीलाई सबल बनाएर शक्ति निर्माणका लागि आवश्यक नीति तथा कार्ययोजनामा जोड दिए । शनिबार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्यूरो सदस्यको सुझाव बुझ्न उक्त बैठक बोलाइएको हो ।