काठमाडौं – बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूलाई आज दिउँसो २ बजे पद तथा गोपनियताको शपथग्रहण गराइने भएको छ । नवनिर्वाचित सांसदहरुले बागमती प्रदेशसभा सचिवालय हेटौंडामा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । उनीहरुलाई शपथका लागि आइतबार नै सुचना जारी गरिएको थियो ।
११० सदस्यीय सांसदहरु निर्वाचित बाग्मतीमा १०९ जना सांसदहरुले आज शपथग्रहण गर्न लागेका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराउने कार्यक्रम छ । सांसद ढुंगानाले बुधबार नै प्रदेश प्रमुखद्वारा शपथ गराइएको थियो ।
शपथमा आउँदा अनिवार्य रुपमा राष्ट्रिय वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा आउन निर्वाचन आयोगले सार्वजनिक सुचना जारी गरेको थियो । त्यस्तै सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन पनि सुचनामार्फत जानकारी गराइएको थियो ।
यस्तै, १५ जना सांसदले मातृभाषामा शपथ लिन नाम टिपाएका छन् । जसमा ११ जनाले नेवारी र ३ जनाले तामाङ भाषामा शपथ लिन नाम टिपाइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।