जोसुकैले जेसुकै भनोस् बालै भएन, नेपाली काँग्रेसको राजनीतिमा गगनहरु जस्ता युवा युवा भनेर बाह्र हात उफ्रिनेहरु यतिबेला हार्नैपर्थ्यो, हारे ठीकै भयो ।
मैले आस्था राख्ने दल फरक होला, तर नेपाली राजनीतिमा नेपाली काँग्रेस बलियो नभएसम्म यस्ता केटाकेटी आए गुलेली खेलाए टाइपका राजनीतिले दशकौं समय खेर फाल्छन्, फालिरहन्छन् । नेपालमा असंभव प्रायः तर अपरिहार्य वाम ध्रुबिकरणको आँकुरा नफस्टाउँदै ओली र प्रचण्डको जुंगाको लडाईले आज उनीहरुको हैसियत कति खुम्च्याईदियो, फुर्सदमा निजहरु बार्दलीमा बसेर कति पछुताउँदा हुन्, बरा ! जोकोहीले सजिलै लख काट्न सकिन्छ । छँदाखाँदाको सत्ताको वरिपरि, चुरीफुरी, झण्डै दुईतिहाई नजिकको बहुमत आफैले धुलिसात गर्दाको परिणाम अहिले निल्नु न ओकल्नुको हैसियतमा थचारिनु परेको छ ।
सरकारमा जानु भ्यागुतालाई धार्नी पुग्दैन, नजानु, सामुन्ने अगाडिको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपराष्ट्रपति, उपसभामुख लगायत अन्य संबैधानिक निकायका प्रमुख, राजदूत लगायतका कति हो कति भागबण्डाको बिषयमा र्याल काढ्दै वञ्चित हुनुपर्ने बाध्यता छ ।
यता बूढो नेपाली काँग्रेस दुईतिहाईको बहुमत ल्याएर बलियो भईदिए हुने हो, अनि मात्र वामपन्थ नामका दर्जनौ पार्टी कानेखुशी गर्दै नमिली धर हुनेथिएन, जबसम्म नेपाली काँग्रेस लबस्तरो भूमिकामै रहन्छ साना-साना झुण्डमा रमाउन मन पराउने वाम शक्तिहरु विभाजित मानसिकतामै समय गुजार्ने देखिन्छ । नेपाली राजनीतिमा देखिने अबको छनक भनेको यस्तै यस्तै त हो नि !
कसैले नचिनेका गुल्मीका सागर ढकालले डडेलधुरा पुगेर शेरबहादुर देउवालाई चुनौती दिएकै हुन् । गगन थापाले पनि संसदीय दलको नेतामा आफुभन्दा अरु सिनियर लिडरहरु हुँदा हुँदै शेरबहादुर देउवालाई चुनौती दिएकै हुन् उनको आँटलाई सलाम ठोक्नैपर्छ तर गगनले नेपाली काँग्रेस जस्तो संसदीय राजनीतिमा पुरानो तर अति पुरातनबादी सोंच राख्ने पार्टीका माननीय सांसदहरुले रातारात विचार परिवर्तन गरेर आफ्नो पक्षमा भोट खसालेर प्रधानमन्त्री बन्नका लागि मार्गप्रशस्त गर्लान् भनेर कसरी सजिलै बिश्वास गर्न सकेका होलान् ? यो उनको चलाखीभित्रको महामुर्खता हो । जसको निगाहबाट टिकट पाएर चुनाव जितेर भर्खर संसदको यात्रा चाल्न पाईला उचाल्दै गरेको तर सपथ समेत खाईनसकेका सांसदहरुले आफ्ना ख्वामितका विरुद्ध आफूलाई भोट दिएर जिताउँलान् र ? भन्ने चलाख गगनलाई पनि राम्ररी थाहा हुनुपर्ने, शायद उनी आफु परीक्षित हुन चाहे ।
एकातिर १४ औं महाधिवेशनताकाको महामन्त्री लगायतका पदाधिकारीको निर्वाचनमा भएको जित-हारको चोट काँग्रेसीजनहरुमा अझै आलै छ । अर्कोतिर नेपालजस्तो मुलुकमा अझै परिवर्तनलाई सजिलै स्वीकार्ने मनोविज्ञान अझै निर्माण भएकै छैन । अझ नेपाली कांग्रेसभित्र त झन धेरै परको कुरो भयो । घटना र परिदृश्यहरुले त्यहि भनिरहेका छन् । गगनलाई प्रधानमन्त्रीको उम्मेदवारकारुपमा देख्न नरुचाउने मनुवा खोज्न अन्त कतै जानै पर्दैन नि काँग्रेसभित्रै छेलोखेलो भारी पुग्छ । कुनै समय देउवाका कट्टर बिरोधी भनेर चिनिने रामचन्द्र पौड्याल जस्ता काँग्रेसका पाका नेता अहिले देउवाकै सुरुवालको फेरो एकछिन छोड्न सकेका छैनन् किन त भन्दा उनलाई राम्रोसंग थाहा छ कि, काँग्रेसमा अझै पनि शेरबहादुर देउवाको दबदबा छ, उनीबिरुद्ध जानु भनेको जीवनको उत्तरार्धमा राजनीतिबाट किनारा लाग्नु हो । अझै केही समय जे जे संभव छ उनकै दया, माया. निगाह र कृपाबाट मात्र संभव छ भनेर बुझेकाहरु उनी लगायत थुप्रै सांसदहरु देउवा क्याम्पमै बसे र भोट हालेको सप्रमाण फोटो पनि देखाएहोलान् । शेखर, विश्वप्रकाश, धनराज, प्रदिपहरुले भने गगनलाई परीक्षामा होमाए र एउटा ऐतिहासिक अग्नीपरीक्षाबाट परिक्षित हुने अवसर प्राप्त गरे ।
यतिबेला शेरबहादुर देउवाका बिरुद्ध जो कोहीको सिंगौरी भनेको पहरोमा कुहिनो ठोकेसरह हो भन्ने कुरो राजनीतिको र बुझेकाहरुका लागि प्रष्टै थियो । तर पनि गगन किन ठोकिन चाहे यसभित्रको फरक पाटो अवश्य होला । कुनै समय प्रष्टिएला नै । भनिन्छ, एकथरिले नेपालमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता परिर्वतन र उपलब्धिहरु धेरै चाँडो आयो नेपालीहरुका लागि यो अझै आवश्यक भईसकेकै थिएन । अर्थात नेपाली माटोमा गणतन्त्रको बिरुवा हुर्काउनका लागि अझै समय भईसकेको थिएन । त्यस्तै नेपाली काँग्रेसभित्र पुस्ता हस्तान्तरणको बिषय र एजेण्डा सुन्दा जति क्रान्तिकारी र आकर्षक लागे पनि ब्यवहारत: काँग्रेसीजनले त्यसलाई अन्तरआत्मादेखि स्वीकारेको देखिएन । त्यसैको परिणाम हो अझै पनि नेपाली काँग्रेसमा सिनियर लिडरहरुले टिकट पाउनु, निर्वाचित भएर आउनु, अझै उनीहरुकै दबदबा कायमै रहनु र संसदीय दलको नेतामा गगनहरु हार्नु ।
गगन युवा पुस्ताका प्रतिनिधि पात्र हुन्, युवा जमातको साझा आवाज हुन्, ढुकढुकी हुन, यति भन्दै गर्दा उनले देखिने गरी आफुबाहेक अरु युवालाई अगाडि सारेको भने कतै देखिएको छैन । यसकारण पनि गगनलाई आत्मकेन्द्रित नेताकारुपमा धैरेले चित्रण गरेको पाईन्छ । ढिलोचाँडो गगन नेपाली काँग्रेसको संसदीय दलको नेता हुँदै नेपालको प्रधानमन्त्री बन्लान्, चांडै बनून – शुभकामना छ । तर यसपटकको गेम अलि कच्चा भयो कि भन्ने आशय हो र कच्चा गेमको परिणाम भनेको निश्चितरुपमा पराजय नै हो । त्यसकारण पनि यतिबेलाको खिचडी नेपाली राजनीतिमा गगनको बिजय भएको भए पनि उनको क्षमता प्रदर्शन गर्न जति सहज थियो त्यो भन्दा अर्कोपटकका लागि तैयारी गर्न र पार्टीभित्रै बसेर जनताको अरु मन जित्ने काम गर्न धेरै राम्रो अवसर इतिहासले प्रदान गरेको छ । उनलाई सुध्रिने र संयमित भएर आफ्नो कमजोरी केलाउने अवसर पनि प्राप्त भएको छ । यस मानेमा गगनहरु हार्नुपर्थ्यो, हारे ठीकै भयो, घाटा उनलाई भएकै छैन । त्यसैले त भनिन्छ, युवा भनेको उमेरको कुरो हुंदै होइन यो त सोचको कुरो हो । मान्छे युवा भए पनि सोच पुरातन भएपछि कसको के लाउँचर बरै ! ***